मैले अस्तिबाटै पहाडसिंह गुरुङको बारेमा असमको राजधानी गुवाहाटीभित्र पर्ने पल्टन बजारस्थित नेपाली मन्दिरबारे चारवटा लेख पोष्ट गरिसकेको छु। तीमध्ये मन्दिर परिसरभित्र गोर्खा स्कुल पनि छ भनेर जानकारी दिएको थिएँ।
यसमा पनि असमका गुरुङलाई सचेतना दिन एउटा लेखे प्रकाशित पनि गरेको थिएँ। जसको शीर्षक थियो, ‘असमका गुरुङ भए भुरुङ’ । यस लेखमा दुमदुमा, असमका कृष्ण गुरुङले मात्र कमेन्ट गरेका छन्, असमका अरू गुरुङले कमेन्ट गरेका छैनन्। हुनसक्छ, धेरैजसो गुरुङ भुरुङ भएर रक्सी पिउँदै नाच्दै होलान्!
अब म पहाडसिंह गुरुङको विषयमा आउँछु्। मैले लेखि पनि सकेको छु– पहाडसिंह गुरुङ नभएका भए पल्टन बजारको नेपाली मन्दिर अस्तित्वमा आउने थिएन।
पहाडसिंह गुरुङ विषयमा गुवाहाटीका नेपालीभाषीले त्यति विस्तृत केही लेखेका छैनन्। उनीबारे राम्ररी जान्ने पुराना व्यक्ति पनि अव गुवाहाटीमा छैनन्। सबै परलोकगामी भए।
गुवाहाटीमा चर्चित साहित्यकार लीलबहादुर क्षत्री सर हुनुहुन्छ। म चाहन्छुु– उहाँले पहाडसिंह गुरुङको बारेमा केहि भनिदिए बेस हुन्थ्यो।
पहाडसिंह गुरुङलाई एकदमै नजिकबाट जान्ने र चिन्ने व्यक्ति अरू कोहि जीवित छन् भने उहाँ हुनुहुन्छ, कटेन कलेजमा स्वतन्त्र सेनानी विष्णुलाल उपाध्याय।
विष्णुलाल उपाध्यायसँग कलेजमा पढ्नुभएको थियो, पञ्जुुलाल गुरुङले। पञ्जुुलालको जन्म गुवाहाटीमा भएको हो।
भारतभरि नेपाली भाषीबीच नेपाली भाषा पढाउने स्कूल गोर्खा पाठशाला खोल्ने मणिसिंह गुरुङका माइला भाई ध्रुवसिंह गुरुङकी छोरीसँग पञ्जुलालले विवाह गरेपछि शिलोङमै बस्नु भयो।
अहिले भने शिलोङको ‘लभर मौप्रेम’ भन्ने ठाउँमा बसोबास गर्नुहुन्छ। हाल १०१–२ वर्षको सोपानमा उक्लिरहनुभएको छ।
उहाँ गुवाहाटीका नेपालीभाषी समाजको विषयमा जति जानकारी राख्नुुहुन्छ, त्यति जान्ने व्यक्ति अब पूर्वाञ्चलमा छैनन् भन्दा फरक पर्दैन। उहाँलाई पहाडसिंह गुरुङको बारेमा सोध्न सकिन्छ तर अहिले त्यति स्वस्थ हुनुहुन्न। राम्ररी सुन्न पनि सक्नुहुन्न।
आजभन्दा २७–२८ वर्षअघि दुर्गाप्रसाद अधिकारीले मणिसिंह गुरुङको बारेमा पुस्तक तयार पार्न मलाई आग्रह गरेपछि हामी पञ्जुुलाल गुरुङ कहाँ पुगेका थियौं।
म कहिलेकाहिँ एक्लै पनि पञ्जुुलाललाई भेट्न जान्थें। भेटका क्रममा पज्जुुलाल गुरुङले पहाडसिंह गुरुङबारे संक्षेपमा जानकारी दिँदै गुवाहाटीको पल्टनबजारमा नेपाली मन्दिर कसरी स्थापना भयो, त्यसको कथा रमाइलो पारामा सुनाउनुभएको थियो।
क्रमशः