रचना सुवेदी
उतिबेलाको जमानामा छुई हुनुभन्दा अगाडि नै छोरीलाई अर्काको घर पठाउनै पर्छ भन्नी कुरा चलन जस्तै थियो।
मेरी आमा भन्नुहुन्थ्यो उहाँको त ३ वर्षको उमेरमा नै विवाहको सट्टापट्टी भाको थियो रे, म त धन्न १५ पुगेकी थिएँ।
सबैले भन्थे मलाई कुनै कोठामा राखेसी बत्ती बाल्नै पर्दैन भनेर। मुखियाकी छोरी, त्यति राम्री अनि इज्जतिलो परिवार।
जो कोही बुहारी बनाउने होडबाजीमा लागेकै थिए। त्यो समय नै त्यस्तै थियो, छोरी मान्छे हेर्नमा बरू जस्तो सुकै किन नहोस् खानदान, नाम चलेका घर र जातभात त हेर्थे हेर्थे।
ममा चाहिँ मेरो रूप र मेरो गुणले पनि टक्क रोकिन बाध्य बनाएको थियो रे, ससुरा बाले सधैं यही भन्नुहुन्थ्यो। मेरो उमेर नि भएको थियो त्यसैले कुरा कुरामा बिहेका कुरासम्म पुगिहाल्यो।
मेरो हात माग्नलाई मेरो बालाई स्कुल पढाउने मास्टरको प्रस्ताव आएको थियो रे अनि यत्तिको केटालाई छोरी दिन हुन्छ भन्नी लागेर होला मेरो विवाहको तयारी अकस्मात गराइदिनु भयो।
म उहाँकै परिवारलाई नि निकै खास थिए रे, मेरो ससुरा बाले बिहेको छिनोफानो भएसी गाउँमा सबलाई भेला पारेर बिहेको निम्तो दिँदा हाम्री हुन लागेकी बुहारी यस्ती छिन भन्दै सुन्दरता र गुणको तारिफ गर्नुहुन्थ्यो रे।