२०४७ सालमा सुर्खेतबाटै नेपाली सेनाको जागिर सुरु गरेका संखुवासभाका जब्बरबहादुर श्रेष्ठ सुर्खेतबाटै जागिरे जीवनको अन्त्य गरे।
करिव १८ वर्ष जागिरे जीवन बिताएका उनले २०६४ सालमा स्वैच्छिक अवकाश लिए।
पल्टनमा रहँदा अनुशासन र मेहनतप्रतिकै लगावले उनलाई रिटायर्ड हुदाँ बैंक तथा कम्पनीमा सुरक्षा गार्डको अफर आएकै थियो। त्यत्तिमात्रै होइन रिटायर्डपछि उनी जापान, अफगानस्तान, इराक, मकाउ जस्ता देशहरुमा जाने सपना देख्ने क्रममा जापान जाने अवसर मिल्यो।
श्रेष्ठले पल्टनकोभन्दा अझ बढी अनुशासन र मेहनत जापानका सर्वसाधारण नागरिकबाट सिक्ने मौका पाए।
‘जब मैले पल्टनमा जागिर गर्दा लाग्थ्यो, अनुशासन र मेहनत यस्तो हुनुपर्छ भन्ने हुन्थ्यो,’ उनले सम्झे,‘पल्टनको अनुशासन र मेहनत भन्दा त्यहाँका नागरिकले गर्ने रैछन्।’
२०६४ चैतमा दश लाख लगानी गरेर जापान पुगे। जापानमा मासिक डेढ देखि अढाई लाखसम्म मासिक तब बुझ्थे।
जापानमा रहँदा २००८ को वर्ल्ड क्यासको चपेटामा पर्दाका बखत उनले सोचे जापान आउँदा गरेको लगानी र परिश्रम, मेहनत गरे नेपालमै केही गर्न सकिने निर्णयमा पुगे। अनि नेपाल फर्किने निधो गरे।
श्रेष्ठका लागि दश वर्षे द्वन्द्वकालमा ज्यान जोगाउन जापान पसेका सुनसरीका नारायण आचार्य उनको प्ररेणाको स्रोत बने।
आचार्यका छोराले ६०/७० हजार मासिक कमाइ गरिरहेको बंगुर फार्मको कहानी सुनेर प्रभावित भए श्रेष्ठ। अनि जापानमै योजना बुने - नेपाल पुगेर बंगुर फार्म खोल्ने। न उनले बंगुरको मासु नै खान्थे न कहिले बंगुर छोएका थिए। तर पनि बंगुरपालन गर्ने निर्णय पक्का गरे।
‘दश वर्षे द्वन्द्वकालमा ज्यान जोगाउन जापान पुग्नुभएको सुनसरीका नारायण आचार्य दाईले आफ्नै छोराले बंगुर पालेर मासिक ६०/७० हजार कमाइ गरिरहेको छ भन्नु भयो,’ श्रेष्ठले भने,‘उहाँकै (सुनसरीका नारायण आचार्य) प्रेरणाले कहिल्यै बंगुर नछोएको मान्छे म बंगुर पालन गर्ने योजना जापानमै बनाए।’