सञ्जिल खनाल
असोज ७ गते, अपराह्न हुँदै थियो। घरको मूलढोका खुलेको आवाज आयो। हामी आमाछोरा कोठामा गफ गर्दै थियौं। को आयो होला भनेर अड्कल काट्न नपाउँदै कोठाको ढोका खुल्यो।असोज ७ गते, अपराह्न हुँदै थियो। घरको मूलढोका खुलेको आवाज आयो। हामी आमाछोरा कोठामा गफ गर्दै थियौं। को आयो होला भनेर अड्कल काट्न नपाउँदै कोठाको ढोका खुल्यो।
'बाबा आज यति चाँडै,' मैले अचम्म मान्दै सोधिहालेँ।
उहाँ मुसुक्क हाँसेर 'त्यसै' भन्दै हातमुख धुन जानुभयो। हामी आमाछोरा मुखामुख गर्यौं। झन्डै पाँच मिनेट आमाछोराको मौनतापछि कोठाको ढोका फेरि खुल्यो। सधैं मेरो खाटमा बस्ने बाबा आज ढोकाबाट अगाडि आउने इच्छा राख्नुभएन। ढोकानजिक राखिएको कुर्सीमा बस्नुभयो र अघिदेखिको मौनता चिर्दै आफ्नो कुरा राख्नुभयो।
कोरोनासँग मिल्ने केही लक्षण देखिएकाले कार्यालयले बाबालाई घरमै आराम गर्न सुझाएको रहेछ। दुई दिनदेखि सामान्य खोकी र जिउ दुख्न थालेको पनि सुनाउनुभएको थियो।
हाम्रो मनमा चिसो सिरेटोले हान्यो।
कार्यालय सुरू भएपछि बाबाले प्रयोग गर्ने सामान, भौतिक दुरी, सरसफाइ लगायतमा खास विचार गरेका थियौं। बाबालाई त्यसदिन जिउ दुख्नेभन्दा पनि मानसिक तनाव बढी भयो सायद। मानौं, निर्दोष मानिसलाई कसैले गम्भीर अपराधको आरोप लगाएको होस्।
असोज ८ गते- बाबाको खोकी र शारीरिक दुखाइमा ज्वरो पनि थपियो। ज्वरो सामान्य थियो तर मनमा असामान्य डर लागिरहेको थियो। असामान्य डर असामान्य परिस्थितिमा परिवर्तन नहोस् भनेर बाबाका लागि छुट्टै कोठा भाँडाकुँडा, रुमाल, स्यानिटाइजर आदि व्यवस्था गर्यौं। घरका सबैमा मास्क अनिवार्य भयो।
असोज ९ गते- बाबाको खोकी लगातार थियो। टाउको र जिउभरको दुखाइ अनुहारमा प्रष्ट देखिन्थ्यो। गलेको शरीर, डराएको मन। हामी के-कसो गर्ने अन्योलमा थियौं।