११ वर्षसम्म प्रहरीलाई फोन गरेर छोरीहरुले सोधिरहे- हाम्रो बुबाको हत्यारा कहिले पक्रिनुहुन्छ?

नेपाल खबर

काठमाडाैं

मकवानपुरको भीमफेदीकी गमला योन्जनले बुबाका हत्यारा पक्राउ पर्ने आशा मारिसकेकी थिइन्। उनी सोच्थिन्– ११ वर्षसम्म पनि नसमातिएकालाई प्रहरीले के खोज्ला?

बितेका ११ वर्षसम्म पटकपटक उनले प्रहरीलाई हत्याराबारे सोधिखोजी गर्न फोन गरिरहन्थिन्। तर शनिबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट फोन आयो।

‘तपाईंका बुबाका हत्यारा पक्राउ गर्‍यौं,’ प्रहरीले भने।

गमलाका बुबा डिलबहादुर योञ्जनको हत्याका अभियुक्त भीमसेन मगर र रामकृष्ण मगरलाई सीआईबीको टोलीले भारत पुगेर ल्याएको हो।

गमलाले पहिले त विश्वास गर्न सकिनन्। शनिबार दिउँसो २ बजेतिर हेटौंडाबाट सुमो चढिन् काठमाडौं आइन्।

चार दिदीबहिनी र एक भाइ मध्यकी जेठी हुन् गमला। बुबाका हत्यारालाई कारबाही नभएसम्म सन्तानको अभिभारा पुरा गर्न नसकेको ठान्थिन् उनी। उनकी माइली बहिनी कमला काठमाडौंमै बस्छिन्। बहिनीसँग आइतबार सीआईबीको कार्यालय पुगिन् र बुबाका हत्यारालाई प्रत्यक्ष देखिन्। त्यसपछि प्रहरीप्रतिको नजर बदलियो।

आइतबार सीआईबीमा भेटिएका यी दिदीबहिनीको अनुहारमा झल्किएको खुसी प्रस्टै देखिन्थ्यो।

‘गरिबका लागि पनि यो देशमा कानुन रहेछ सर, अब हाम्रो बुबाको आत्माले शान्ति पाउँछ,’ सीआईबी प्रमुख डीआईजी सहकुल थापासँग गमलाले भनिन्, ‘जे नहुनु भइगयो, हत्यारालाई कारबाही होस् भन्ने चाहेका थियौं, अब हामीले न्याय पायौं।’

प्रकाशित मिति: : 2020-10-19 07:10:00

प्रतिकृया दिनुहोस्