बहराइनका राजकुमारद्धारा मनास्लुको सफल आरोहण

बहराइनका राजकुमारद्धारा मनास्लुको सफल आरोहण।
बहराइनका राजकुमारद्धारा मनास्लुको सफल आरोहणः तस्बिरः तासी लाक्पा शेर्पा

बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले आठौं अग्लो मनास्लु हिमाल (८१६३मि) को सफल आरोहण गरेका छन्।

राजकुमारसहितको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लुको सफल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिले जनाएको छ ।

आरोहण दलमा विश्वका नाम कहलिएका शेर्पाहरु थिए जसमा मिङ्मा शेर्पा, छाङ दावा शेर्पा र सानु शेर्पा (विश्वका अग्ला १४ हिमालहरु आरोही ), टासी लाक्पा ( कान्छा सगरमाथा आरोही अक्सिजन बिना), कामी रिता शेर्पा (२४ पटक सगरमाथा आरोही) सहित टाेलीमा राजकुमारसहित ५० जना सहभागी थिए।

मनास्लु आरोहणका लागि राजकुमारको टोली गत असोज २० गते गोरखाको सामागाउँ पुगेका थियाे । राजकुमारको आरोहणको बन्दोबस्त सेभेनसम्मिट ट्रेक्स प्रालिले नै मिलाएको थियो । 

राजकुमारसहितको साे टोलीले यसअघि असोज १९ गते सोलुखुम्बुको ६ हजार १ सय १९ मिटर अग्लो लुबुचे हिमाल सफल आरोहण गरेकाे थियाे । हिमाल आराेहणका लागि खलिफासहितकाे टाेली भदाै ३१ गते नेपाल आएकाे थियाे । टोलीले सन् २०२१ मा सगरमाथा आरोहण गर्ने लक्ष्य लिएको छ।

काेराेना राेकथामका लागि गत चैतमा गरिएकाे लकडाउनपछि हिमाल आराेहण गर्ने साे टाेली पहिलाे हाे । भदाै १४ गतेकाे मन्त्रिपरिषद् बैठकले राजकुमारसहितकाे टाेलीलाई हिमाल आराेहणका लागि नेपाल आउन अनुमति दिएकाे थियाे ।

सरकारले लकडाउनपछि नेपालमा पहिलाे पटक हिमाल आरोहण अनुमति दिएको हाे ।

नेपालमा आएर हिमालको सफल आरोहण गरेको बहराइनका राजकुमारको टोलीलाई बधाई र आगामी सगरमाथा आरोहणको लागि शुभकामना!

तस्बिरहरूः बहराइन एभरेस्ट फेसबुक पेजबाट

प्रकाशित मिति: : 2020-10-15 10:03:00

प्रतिकृया दिनुहोस्