यही असोज २२ गते बिहीबार बिहान ९ बजे अघिल्लो दिन (२१ गते बुधबार) दिएको पीसीआर स्वाब परीक्षणको नतिजा आयो । रिपोर्ट थियो, कोरोना भाइरस अर्थात् कोभिड-१९ ‘पोजिटिभ’ । बिध ल्याबको नतिजा बाह्रखरीकर्मी जीवन सर (जीवन तिम्सिना, मार्केटिङ म्यानेजर) को स्रोतबाट १ घण्टाअगावै पाएको थिएँ ।
रिपोर्ट आउँदा गहभरी आँसु आए । तर, झर्न दिइनँ । सँगै ममी बुबा हुनुहुन्थ्यो । मेरो मुहारमा कोरिएका रेसाको संकेत पढिसक्नुभएको थियो । आमा जातिको मनै खै कस्तो हो ? पिल्ल रोइहाल्नुभयो । आफूलाई जसोतसो सम्हालें । दुई साताअघि नारायण (नारायण पौडेल, कर्पोरेट नेपालका प्रबन्ध सम्पादक) दाइलाई कोभिड-१९ रोग संक्रमण भएको थियो, उहाँको अनुभव सुनेरै ‘आफूलाई रोग लागिहाले यसरी ट्याकल गर्नेछु’ भन्ने मोटामोटी सोच बनिसकेको भएर पनि होला मेरा आँसु नझरेका ।
मेरो ‘इन्ट्युसन’ (भित्री मनले यो हुन्छ हुन्छ जस्तो लाग्नु) ले ममा कोभिड १९ लागिसकेको भन्थ्यो । इन्ट्युसन पूरा हुनु राम्रो हो कि होइन, त्यो त मलाई थाहा छैन । तर, मलाई भित्रै मनले आफ्नो सोच पूरा नहोस् लागिरहेको थियो । तर, विश्वका साढे ३ करोड व्यक्तिलाई निरिह तुल्याएको महामारीलाई मेरो शरीरले आफूभित्र पस्न नदिन सकेन । मलाई सोही भाइरसका कारण आफ्नो शरीरले पीडा र मेरा मान्यगण/प्रियगण/शुभेच्छुकले मेरो चिन्ताबोध गर्नु नपरोस् भन्ने चाहना राखेको थिएँ, त्यो पूरा हुन सकेन ।
मलाई कोभिड-१९ संक्रमण हुने कुरामा आफू ढुक्क हुनुको कारण थिए, लक्षणहरू । गहिरो सुक्खा खोकी, अधिकतम १०२.५ डिग्री फरेनहाइटसम्मको ज्वरो, खोकेर घाँटीमा घाउ भएको महसुस, हल्का छाती दुख्नु, टाउको फुट्नै खोजेजस्तो दुख्नु आदि केही लक्षण ममा थिए, जो अरु कोभिड-१९ रोगीसँग मिल्दोजुल्दो थिए ।
मलाई लक्षण देखिन थालेदेखि नै मैले केही कुरा लुकाइनँ । आफूभन्दा मान्ने र जान्नेगणसँग सोधिरहेँ, प्रियजनलाई सचेत गराइरहेँ । पीसीआरका लागि स्वाब दिएदेखि नै बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधान सरलगायत केही व्यक्तिले मेरो लक्षणका आधारमा नतिजा पोजिटिभ आउने लख मैजसरी काटिसक्नुभएको थियो ।