उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालयमै रहेर प्रधानमन्त्रीका कामको संयोजन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालयमै रहेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका कामको संयोजन गर्ने जिम्मेवारी तोकेका छन्। 

यसअघि रक्षामन्त्रीसमेत रहेका पोखरेल रक्षा मन्त्रालयमा रहेर काम गर्थे। अब उनी प्रधानमन्त्री कार्यालयमै बसेर प्रधानमन्त्रीका कामको संयोजन गर्ने छन्। रक्षामन्त्रीको जिम्मेवारी प्रधानमन्त्री ओलीले आफैँसँग राखेका छन्।

‘प्रधानमन्त्रीले ०७४ साल चैतमा मन्त्री बनाउँदा नै उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्री कार्यालयमै बसेर जिम्मेवारी बहन गर्न भन्नुभएको थियो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि यो जिम्मेवारीमा आउन आग्रह गर्नुभएको थियो। त्यसबेला उहाँहरुले छुट्टै मन्त्रालयमा रहेर काम गर्ने इच्छा देखाउनुभो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिएल नेपाली सेवासँग भने, ‘अहिले प्रधानमन्त्रीले पोखरेललाई प्रधानमन्त्री कार्यालयमै ल्याउन आवश्यक ठान्नुभो।’

प्रधानमन्त्री ओली बालुवाटारमै रहने हुनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा संयोजनकारी भूमिकामा आफ्नो विश्वासपात्र एक जना मन्त्री आवश्यक पर्ने महसुस प्रधानमन्त्रीले गरेका हुन्।

 प्रधानमन्त्रीका कामको संयोजन सल्लाहकारले गर्न नमिल्ने हुनाले प्रधानमन्त्री कार्यालयमा अप्ठेरो महसुस भएको पनि थापाले जानकारी दिए। 

प्रकाशित मिति: : 2020-10-14 20:29:00

प्रतिकृया दिनुहोस्