‘कानूनलाई विश्लेषणात्मक हाेइन्, लेख्य आधारमै व्याख्या गर्छु’

न्यायाधीश एमी नियुक्त भएमा कुनै पनि राजनीतिक विवादको विषय सर्वोच्चमा पुगे रिपब्लिकनको पक्षमा फैसला हुन सक्ने शंसयमा डेमोक्र्याटहरु रहेका छन्। फैसलाले बन्दुक, मताधिकार, गर्भपतन, चुनावी अभियानको खर्चसहित सम्पूर्ण सार्वजनिक नीतिमा प्रभाव पार्छ।

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकाको सर्वोच्च अदालतमा खाली रहेको न्यायाधीश पदका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेकी न्यायाधीश एमी कोनी ब्यारेटले कुनै पनि मुद्दाको सुनुवाई निष्पक्ष रुपमा गर्ने र कानूनको व्याख्या जसरी लेखिएको छ त्यसरी नै गर्ने प्रतिवद्ध जनाएकी छिन्।

सिनेटमा हुने सुनुवाईमा पनि सोही कुरा बताउने उनले जानकारी दिएकी हुन्। कन्जरभेटिभ न्यायाधीश एमीले आफ्नो व्यक्तिगत अवधारणा जे भएपनि कानूनको व्याख्यालाई आत्मसाथ गर्ने बताइन्। उनले कानूनलाई त्यसको विश्लेषणात्मक नभई लेख्य आधारमै व्याख्या गरिनुपर्नेमा जोड दिइन्। 

आउँदो हप्ता सिनेटमा चार दिने सुनुवाई सुरु हुनेछ उनको मनोनयनका सम्बन्धमा। 

माथिल्लो सदन सिनेटमा हुने सुनुवाईले सामाजिक रुढीवादीहरुकी प्रिय एमीको नाम पारित गरेमा उनले सर्वोच्च अदालतमा हालै ८७ वर्षको उमेरमा निधन भएकी लिबरल न्यायाधीश रुथ बेडर गिन्सबर्गको ठाउँ लिने छिन्। उनकाे मनाेनयन लगभग पक्का छ।

यसअघि नै हाल रिपब्लीकन पार्टीको बहुमत रहेको सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पनि राष्ट्रपति ट्रम्पले गर्ने मनोनयनलाई सिनेटले अनुमोदन गर्ने बताइसकेका छन्।

तर, रिपब्लीकन पार्टीभित्रै आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनाव अघि न्यायाधीश नियुक्तीको कार्य गर्न नहुने बहस पनि चलेको छ किनभने यसअघि तत्कालीन राष्ट्रपति बाराक ओबामाले सन् २०१६ मा न्यायाधीश नियुक्त गर्न खोज्दा चुनावी वर्ष भन्दै रिपब्लीकनको बहुमत रहेको सिनेटले नै उक्त कार्य रोकेको थियो। 

डेमोक्रेट पार्टीले सन् २०१६ मा स्थापित पूर्व मान्यता अहिले पनि कायम राख्नुपर्ने अडान राखेका छन्। 

अहिले भने तिनै नेताले जति सक्दो चाँडो सुनुवाई प्रक्रिया सकेर नियुक्ति प्रक्रिया पूरा गर्ने बताएका छन्। सिनेटमा रिपब्लिकनको बहुमत छ। प्रस्तावित न्यायाधीशको नाम पास गर्नका लागि सामान्य बहुमत भए पुग्छ। 

एमी अनुमोदन भएमा सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधीशको संख्या ६ पुग्ने छ र लिबरल न्यायाधीशको संख्या तीनमा सीमित हुनेछ। कानून अनुसार सर्वोच्च अदालतका ९ न्यायाधीशले जीवनभर सेवा गर्न पाउँछन्। 

यस्तो भएमा अमेरिकी संविधानमा महत्वपूर्ण मानिएको न्यायालयमा वैचारिक सन्तुलन आउँदा केही दशकका लागि खलबलिने छ। यस्तै अहिलेको न्यायाधीश नियुक्तिसँगै सर्वोच्चमा कन्जरभेटिभको बाहुल्य स्थापित हुने भन्दै उदारवादीहरुले चिन्ता व्यक्त गरेका छन्। 

अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ। डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले सिनेटले अमेरिकी जनताले आफ्नो नयाँ राष्ट्रपति चयन नगरेसम्म खाली न्यायाधीश पदका लागि हुने नियुक्ति प्रक्रिया सुरु नगर्न आग्रह गरेका छन्। 

किनभने अमेरिकाका विभिन्न चुनावी मतसर्वेक्षणले आगामी चुनावमा राष्ट्रपति ट्रम्पले जित्ने सम्भावना झिनो रहेको देखाइरहेका छन् भने सिनेटमा पनि रिपब्लीकन पार्टी अल्पमतमा पर्ने सम्भावना छ।

न्यायाधीश एमी नियुक्त भएमा कुनै पनि राजनीतिक विवादको विषय सर्वोच्चमा पुगे रिपब्लिकनको पक्षमा फैसला हुन सक्ने शंसयमा डेमोक्र्याटहरु रहेका छन्। फैसलाले बन्दुक, मताधिकार, गर्भपतन, चुनावी अभियानको खर्चसहित सम्पूर्ण सार्वजनिक नीतिमा प्रभाव पार्छ।

डेमोक्र्याटहरुले नियुक्त भएपनि आउँदो नोभेम्बरमा हुने चुनावमा विवाद उत्पन्न भएमा र सो विषय अदालत पुगे त्यसमा सामेल नहुन न्यायाधीश एमीसँग अपिल गरेका छन्। यस्तै ओबामाकेयर नामक स्वास्थ्य सेवा सम्बन्धी मुद्दाको सुनुवाईमा पनि उनी सामेल हुन नहुने डेमोक्र्याटको भनाई छ।

यस्तै राष्ट्रपति ट्रम्पसहित रिपब्लिकन सिनेटरहरुमा कोरोना भाइरसको संक्रमण देखिएकाले सिनेटमा हुने सुनुवाईको क्रममा अरुलाई प्रवेश दिन नहुने डेमोक्र्याटहरुले माग राखेका छन्।

उनीहरुले संक्रमण फैलिन सक्ने भन्दै पछि सार्न माग गरेका छन्। तर सिनेटका रिपब्लिकन नेताले सो कुरा अस्वीकार गरिसकेका छन्।

प्रकाशित मिति: : 2020-10-12 07:00:00

प्रतिकृया दिनुहोस्