नौ दिनमा यसरी कोरोना मुक्त भए ट्रम्प

वासिङ्टन। कोरोना संक्रमणको महामारी विश्वमा फैलिएको नौ महिनाभन्दा बढीको समय बितिसकेको छ। यसले कसैलाई छोडेको छैन। विश्वको सबैभन्दा शक्तिशाली मान्छे, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत यो महामारीले केही दिनअघि गाँज्यो। 

कोरोनाकै कारण विश्वमा १० लाख बढी मानिसको निधन भइसकेको छ। तर, रोचक कुरा, ट्रम्प नौ दिनको छोटो उपचारपछि कोरोना संक्रमणबाट बाहिरिए। अर्थात उनी यति थोरै समयमा कोरोना मुक्त भएका छन्। 

आखिर त्यस्तो के अपत्यारिलो घटना भयो, उनी यति छिटो समयमा नै कोरोना मुक्त भए? ट्रम्प सुरुदेखि नै कोरोना संक्रमणलाई त्यति महत्व दिइरहेका थिएनन्। ७४ वर्षको उमेरमा पनि उनले कोरोनालाई छोटो समयमा जिते। उनलाई पहिलेदेखि नै ब्लड प्रेसर, मोटोपनाका साथै अन्य थुप्रै रोग थियो, जुन कोरोनाका लागि घातक मानिन्थ्यो। तर, उनले यी सबै कमजोरीका बाबजुद आफ्नो उच्च इच्छाशक्तिले कोरोनालाई शरीरबाट भगाईं छोडे। 

गत सोमबार उनको ब्लडको स्याम्पल निकालिएको थियो। जसमा प्रोटेक्टिभ एन्डीबडीको संख्या उच्च स्तरमा देखा परेको थियो। औषधि कम्पनीका अनुसार यी सबै रिजेनेरनको एन्टीबडी थेरापीका कारण सम्भव भएका हुन। 

ट्रम्पले बुधबार एक भिडियोमार्फत दावी गरेका थिए, उनी रिजेनेरन औषधिको प्रयोगात्मक थेरापीका कारण सञ्चो भएका हुन। यो कम्पनीले केन्द्रीय नियन्त्रक ब्यूरोलाई आकास्मिक प्रयोगका लागि एन्टीबडी उपचारमा यो औषधिलाई अनुमति दिन अपील गरेको छ। 

के हो, रिजेरेन औषधि? 

सबैलाई थाहा भएको विषय हो, कोरोना संक्रमितको उपचारका लागि विश्वभरि नयाँ–नयाँ औषधिको परीक्षण भइरहेको छ। परीक्षणमा शरीरमा भएका भाइरसको गणना गर्ने र यसलाई तुरुन्त कसरी कम गर्न सकिन्छ भनेर प्रयोग भइरहेको छ। अमेरिकाको औषधि कम्पनी रिजेनेरनले पनि कोरोनालाई पराजित गर्न एउटा औषधिको परीक्षण गरिरहेको छ। 

रिजेनेरेनले दुईवटा मोनोक्लोनल एन्टीबडीलाई मिलाएर रिजेन–कोभ२ को उत्पादन गरेको छ, जसले सार्स–कोभ–२ (कोभिड–१९ भाइरस) को संक्रमण फैलिने क्षमतालाई रोक्ने काम गर्छ। 

रिजेन–कोभ२ को विकासका लागि वैज्ञानिकहरूले हजारौं मानव एन्टीबडीको सूक्ष्म अनुसन्धान गरेका थिए। रिजेनेरन कम्पनीले मानवको इम्युन सिस्टम विकसित गर्न आवश्यक पर्ने बस्तुलाई एउटा मुसामा जेनेटिक मोडिफाई गरेको थियो। यसका लागि कम्पनीले कोरोनाबाट मुक्त भएका मानिसमा बनिरहेको एन्टीबडी प्रयोग गरेको थियो। 

यो थेरापीमा दुई मोनो क्लोनल एन्टीबडी रेजिन१०९३३ र रेजिन१०९८७ लाई प्रयोग गरिएको छ, जुन सार्स–कोभ–२ भाइरसलाई शरीरमा फैलिनबाट रोक्ने गर्छ। 

अहिले यो औषधि मानव परीक्षणको अवस्थामा छ। संक्रमित व्यक्तिमा भाइरस कम गर्न प्रयोग भइरहेको छ। अमेकिामा २७५ मानिसमा यसको प्रयोग भइसकेको छ। अघिल्लो साता १३ सय संक्रमितमा प्रयोग गर्ने योजना छ। बेलायतमा पनि यो औषधिको परीक्षण भइरहेको छ। 

मोनोक्लोनल एन्टीबडीले शरीरमा संक्रमण रोक्न सहयोग गर्ने एउटा सेलसँग जोडिएर काम गर्ने गर्छ। विशेषज्ञका अनुसार जेनेटिकली विकसित यो एन्टीबडीले कोभिड–१९ संक्रमितको शरीरमा प्रवेश गरेर कोरोनालाई पराजित गर्न सहयोग गर्छ। 

मोनोक्लोनल एन्टीबडीको प्रयोग पहिलो पल्ट प्रयोग भइरहेको होइन। यसअघि केही क्यान्सर पीडितहरूमा पनि यसको प्रयोग भएको थियो। पहिले मोनोक्लोनल एन्टीबडी बोनम्यारोको प्लाज्मा सेल्सबाट निकालिने गरिन्थ्यो। 

यसलाई विशेष गरेर भाइरसलाई नियन्त्रण गर्न तथा शरीरमा उत्पादन हुने एन्टीबडी विकसित गर्न प्रयोग गरिन्थ्यो। एन्टीबडी औषधि पहिले रेबिज, हेपाटाइटिस बीमा पनि दिने गरिन्थ्यो। तर, यसमा सोचे जस्तो नतिजा आउन सकेको थिएन। 

प्रकाशित मिति: : 2020-10-11 05:30:00

प्रतिकृया दिनुहोस्