विभिन्न स्वास्थ्य सुधारका ६ बुँदे माग राखेर विगत २६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि सरकार र डा केसीका प्रतिनिधिबीच शुक्रबार राति भएको वार्ता असफल भएको छ।
शिक्षा मन्त्रालयमा शुक्रबार राति अबेरसम्म चलेको वार्ता असफल भएको हो ।
सरकारले डा केसीका माग सम्बोधन गर्ने मनासाय नबनाएको र सरकारले तय गरेको वार्ता समितिसँग कुनै म्यान्डेट नभएकोडा केसी तर्फका वार्ता टोलीका संयोजक डा जीवन क्षेत्रीले बताए। डा. केसीको माग सम्बोधन गर्न तथा उनको जीवनरक्षा गर्ने विषयमा सरकार गम्भीर नभएको भन्दै भोलिदेखि कडा आन्दोलनका कार्यक्रम गर्ने पनि उनले बताए।
‘हामी अबेर रातिसम्म वार्तामा बस्यौं, तर सरकार गोविन्द सरको माग पूरा गराउन अग्रसर भएन,’ केसीतर्फबाट वार्ता टोलीका संयोजक डा. जीवन क्षत्रीले भने, ‘अब वार्ता फेरि कहिले हुन्छ भन्ने टुंगो पनि भएन।’
बिहीबार सरकार पक्षले वार्ताका लागि एउटा मस्यौदा तयार गरेको थियो। शिक्षासचिव गोपी मैनालीले उक्त मस्यौदा तयार पारेका थिए।
‘मस्यौदा मन्त्री र प्रधानमन्त्रीकहाँ पनि पुगेको थियो, तर कसैले पनि गम्भीरतापूर्वक लिएको देखिएन,’ क्षत्रीले भने, ‘डाक्टर केसीको जीवनबारे सरकारी पक्ष गम्भीर देखिएन।’
डा क्षेत्रीले सरकारले डा केसीको जीवन जोखिममा पारेको पनि बताए। सरकारले डा केसीको माग पुरा गर्ने गरी वार्ताका लागि आफूहरु जुनसुकै समयमा पनि वार्तामा जाने पनि डा क्षेत्रीले बताए।
‘सरकार नतिजामुखी वार्ताबाट पछि हटेको छ,’ क्षत्रीले भने, ‘सत्याग्रह लम्ब्याएर सरकार केसीको स्वास्थ्य थप जोखिममा पार्न चाहन्छ।’
शुक्रबार दिनभर शिक्षा मन्त्रालयमा सरकारका मुख्य सचिव, शिक्षा मन्त्री, शिक्षा सचिव तथा सरकारी वार्ताटोलीबीच आन्तरिक छलफल भएपछि सरकारले शुक्रबार राति डा केसीका प्रतिनिधिसँग वार्ता गरेको थियो।
सरकारी पक्षले भने थोरै गृहकार्य नपुगेकाले वार्ता टुंगोमा नपुगेको बतायो।
‘वार्ता नमिलेको होइन, थोरै गृहकार्य मिलेको छैन। एक-दुई वटा कुरामा सहमति हुन सकेन,’ शिक्षासचिव मैनालीले भने, ‘भोलि फेरि वार्तामा आउन आह्वान गरेका छौं, भोलिको वार्ता निर्णायक हुन्छ।’
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै डा केसीले भदौं २९ गतेदेखि अनसन शुरु गरेका थिए । डा केसीको अनसनको शुक्रबार २६ औं दिन हो । लामो समयदेखि अनसनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ।