सरकारी टोलीसँग डा. केसीको वार्ता ४ बजेसम्मका लागि स्थगित

सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच भएको वार्ता केही समयका लागि स्थगित भएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता आज दिउँसो ४ बजे फेरि बस्नेगरी स्थागित भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा‍. लोचन कार्कीले बताए।

उनले बिहानदेखि भएको वार्तामा सरकारी टोलीसँग डा. केसीका मागहरूको सम्बन्धमा बुँदागत छलफल भएको बताए।

अहिलेसम्म भएको छलफललाई ड्राफ्ट बनाई दुवै पक्षबीच फेरि छलफल भई दिउँसो ४ बजे वार्तामा बस्ने सहमति भएको डा. कार्कीले बताए। 

२४ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

अक्सिजनको सपोर्टमा रहेका उनको बुधबारदेखि रक्तचापमा पनि कमी आएको छ। जिउ गल्ने, चक्कर लाग्ने, मुटुको धड्कनमा उतारचढाब, मांसपेशी दुख्ने, डब्लुबिसी, सुगर र पोटासियमको मात्रामा कमी जस्ता समस्या पनि उनमा देखिएका छन्।

त्रिवि शिक्षण अस्पतालले बिहिबार केसीको रक्तचाप नाप्दा आवश्यकभन्दा निकै कम देखिएको जानकारी गराएको छ। केसीलाई तत्कालै आइसियुमा राखेर उपचार गर्नुपर्ने चिकित्सकहरूको भनाई छ। केसीले तत्काल अनशन नतोडे जुनसुकै बेला ज्यान तलमाथि हुनसक्ने उपचारमा संलग्न चिकित्सक बताउँछन्।

भदौ २९ देखि जुम्लाबाट सुरू भएको केसीको १९औं पटकको यो अनशनप्रति विभिन्न राजनीतिक दल, पूर्वप्रधानमन्त्रीहरू, नागरिक समाजका अगुवा, लेखक, बुद्धिजीवी, प्राध्यापक, चिकित्सक, सर्वसाधारणलगायतले ऐक्यबद्धता जनाउँदै वार्ताका माध्यमबाट उनका माग सम्बोधन गर्न ध्यानाकर्षण गराए पनि सरकारले बल्ल औपचारिक रूपमा वार्ताका लागि समिति गठन गरेको हो।

प्रकाशित मिति: : 2020-10-08 15:51:44

प्रतिकृया दिनुहोस्