काठमाडौं प्रहरी परिसरविरुद्ध हेडक्वार्टरमा उजुरी, अभियुक्त जोगाउन लागेको आरोप

उजिर कार्की

काठमाडौं

काठमाडौं प्रहरी परिसरविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ।

परिसरले गलत तथ्य पेस गरेर आफ्नो जाहेरी तामेलीमा राखेको भन्दै स्याङ्जाका आशिष पौडेलले बुधबार उजुरी गरेका हुन्।

त्रिभुवन विश्व विद्यालयविरुद्ध परेको जाहेरी छानविन नै नगरी गलत तथ्य पेस गरेर जाहेरी तामेलीमा राखेको भन्दै प्रहरी मुख्यालयमा उजुरी परेको हो। पौडेलले परिसरका प्रमुखसहित अनुसन्धानमा संलग्न प्रहरीविरुद्ध उजुरी गरेका हुन्।

बुधबार उजुरी परेको र यस विषयमा आवश्यक अनुसन्धान हुने प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले बताए।

‘उजुरीमाथि आवश्यक छानविन हुन्छ, संलग्नलाई सोधपुछ गर्छौं, सो उजुरीलाई महानगरीय प्रहरी कार्यालय पठाउँछौं र बुझ्न भन्छौं,’ प्रवक्ता कडायतले भने।

स्नातकोत्तर भौतिक शास्त्रको २०७५ पुस २९ र २०७६ असोज ५ गते सञ्चालित प्रथम सेमेस्टरको पुरानो कोर्षको आंशिक तर्फको क्वान्टम मेकानिक्स विषयका उत्तर पुस्तिका छानविनका लागि परेको जाहेरी प्रहरीले तामेलीमा राख्न रायसहित प्रतिवेदन बुझाएको थियो।

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान कीर्तिपुरका डिन प्रध्यापक डा. रामप्रसाद खतिवडा र सहायक डिन एवं प्ररीक्षा शाखा प्रमुख तेजबहादुर बीसीविरुद्ध जाहेरी दिएका थिए।

प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले उक्त जाहेरी २०७७ असोज १६ गते तामेलीमा राख्ने निर्णय गरेको छ।

पौडेल समेतका विद्यार्थीले सर्वोच्च अदालतसँगै अख्तियार, सतर्कता केन्द्र र प्रहरी परिसरमा उजुरी दिएका थिए। अन्य निकायले पनि त्यसबारे अनुसन्धान गरिरहेका छन्। 

सो उजुरीमा काठमाडौं प्रहरी परिसरले आवश्यक प्रमाण नै संकलन नगरी र जाहेरवालासँग समेत नबुझी अभियुक्तलाई जोगाउन भूमिका खेलेको भन्दै विभागीय कारबाहीको माग गरिएको छ।

परिसरले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउँदा कसुरदारलाई उम्काउने नियत राखेको र तथ्य लुकाएर नभएका कुरा देखाई गलत प्रतिवेदन बुझाएको उजुरीमा उल्लेख छ।

प्रकाशित मिति: : 2020-10-07 15:35:39

प्रतिकृया दिनुहोस्