भालुवाङ राजधानी तोकिएपछि बाँके र बर्दियामा दीपावली

प्रदेश ५ को स्थायी नाम लुम्बिनी प्रदेश र राजधानी दाङको भालुवाङ हुने भएपछि खुसियालीमा बाँके र बर्दियाका विभिन्न स्थानमा दीपप्रज्वलन गरिएको छ। 

मंगलबार बसेको प्रदेश ५ को प्रदेशसभा बैठकले सरकारको प्रस्ताव दुई तिहाई मतले पारित गरेको छ। गौतमबुद्धको जन्मस्थल लुम्बिनी प्रदेश नाम राख्ने प्रस्तावको पक्षमा ७९ र विपक्षमा ४ मत परेको थियो।

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको पक्षमा ६९ र विपक्षमा १३ मत परेको थियो। दुई तिहाईले दुवै प्रस्ताव पारित भएको सभामुखले जानकारी गराएका थिए।

राजधानी घोषणा गरिएपछि साँझ दाङको देउखुरी, तुलसीपुर, लमही, भालुवाङ लगायतका स्थानमा दीपप्रज्वलन गरिएको थियो। यस्तै बाँके र बर्दियाका विभिन्न स्थानमा पनि प्रदेश सरकारले लामो समयको प्रतिक्षापछि ऐतिहासिक निर्णय गरेको भन्दै दीपप्रज्वलन गरिएको छ। 

बाँकेमा नेकपा कोहलपुर नगर कमिटिको आयोजनामा चौराहामा दीप प्रज्वलन कार्यक्रम गरेकाे छ।

नेकपाका नगर कमिटिका अध्यक्ष बसन्ती अधिकारीले प्रदेश सरकारले गरेको निर्णयको स्वागत गर्दै दीपप्रज्वलन गरिएको बिएल नेपाली सेवालाई बताइन्। 

‘प्रदेशबासीहरुको लामो समय देखिको प्रतिक्षाको रुपमा रहेको नाम र राजधानी टुंगो लागेको छ। यसको खुसीयाली साट्न दीपप्रज्वलन गरिएको हो। यो निर्णय बाँकेको हितमा छ। यसप्रति हाम्रो पूर्ण समर्थन छ,’ उनले भनिन्।  

यस्तै नेकपा बाँकेका सचिव अशोक कोइरालाले पनि बाँके र बर्दियाले चाहे अनुसार प्रदेशले निर्णय गरिएको बताए। उनले प्रदेश सरकारको निर्णय प्रति नेकपा बाँके जिल्ला कमिटिको पूर्ण समर्थन रहेको बताए। 

मंगलबारको प्रदेश सरकारको निर्णयप्रति भने साविक लुम्बिनी अञ्चल जिल्लाहरुमा भने असन्तुष्टि देखिएको छ। यस्तै बर्दियाको बाँसगढी नगरपालिकाको आयोजनामा देउखुरी राजधानी भएको खुसीयालीमा दीपप्रज्वलन कार्यक्रमको आयोजना गरिएको छ। 

साँझ बाँसगढी बजारमा नगरबासीहरुको उल्लेख्य सहभागितामा दीपप्रज्वलन कार्यक्रम गरिएको हो। कार्यक्रममा नगरप्रमुख शालिकराम अधिकारीको समेत सहभागिता रहेको थियो। 

उक्त अवसरमा बोल्दै उनले दाङमा राजधानी हुनु भौगोलिक दृष्टिले  उपयुक्त भएको बताए। बिएल नेपाली सेवासँग कुराकानी गर्दै दाङको गढवा गाउँपालिका अथ्यक्ष सहजराम यादवले पनि प्रदेश सरकारलाई कुनै कुराको कमी हुन नदिने प्रतिवद्वता जनाए। 

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बुटवलका भन्दा आलिसान र सुविधा सम्पन्न भवनमा प्रदेश सरकारलाई राख्न सक्ने दावी गरे। 

‘लमही नगरपालिका र गढवा गाउँपालिकामा पनि प्रशस्त ऐलानी जमिन छ। हामी तीनवटा पालिकाले संरचना नपुग्ने बेलासम्म बुटवलका भन्दा आलिसान र सुविधा सम्पन्न भवनमा प्रदेश सरकारलाई राख्न सक्छौं,’ उनले भने। 

यस्तै दाङ राजधानी तोकिएपछि पूर्व सभामुख कृष्णबहादुर महराले समेत सम्पूर्ण जनतालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2020-10-06 20:23:53

प्रतिकृया दिनुहोस्