डा. केसीलाई भेटेपछि शिक्षा सचिवले भने, 'अनसन तोड्नुहोस्'

शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहित ३ जनाको टोलीले मंगलबार २३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीलाई भेटेको छ। सरकारका तर्फबाट गएका टोलीले सत्याग्रह बसेको २३ दिनमा डा. गोविन्द केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल गएको हो। 

डा. केसीलाई भेटेर सचिव मैनालीले सत्याग्रह स्थगित गर्न अनुरोध गरेका थिए। 

नेपाल सरकारको तर्फबाट आफूहरूले डाक्टर केसीलाई भेटेर अनशन तोड्न आग्रह गरे पनि सरकारको तर्फबाट वार्ता टोली गठन भएपछि मात्रै अनशन तोड्ने डाक्टर केसीले बताएको मैनालीले जानकारी दिए।

टोलीमा शिक्षा मन्त्रालयका प्रवक्ता तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव दिपक शर्मा र उच्च शिक्षा महाशाखाका उपसचिव लक्ष्मी खड्का थिए । डा. केसीले औपचारिक रुपमा सरकारलाई आफ्ना मागहरु समेत नराखेको सचिव मैनालीले जनाए । उनले भने ‘उहाँको स्वास्थ्य जोखिम बढ्दै गएको छ, यतिबेला सरकारले कोरोनाको कारण स्वास्थ्य सेवा प्रदान गर्ने कामलाई प्राथमिकता दिएको छ, त्यही भएर अनशन तोड्नुपर्छ भनेका हौं ।’ साधन स्रोतले भ्याएसम्म डा. केसीले राखेका मागहरु सरकारले पूरा गर्दै गएको उनले जनाए ।

केसीले भने सरकारसँग आफू वार्ता गर्न तयार रहेको बताएका थिए । उनले सरकारी टोलीलाई आफ्नो तर्फबाट वार्ता गर्न टोली तयारी अवस्थामै रहेको जानकारी दिए। सरकारी टोलीले भने वार्ता गर्नभन्दा पनि बढी अनशन तोड्न आग्रह गरेको डा. केसीका सहयोगीहरुले बताए । केसीले सरकारका प्रवक्ता प्रदीप ज्ञवालीलेसमेत अनशन तोड्न मात्रै आग्रह गरेकाले 'भेट्न आउन दु:ख नपाएको भए पनि हुन्थ्यो' भनेका थिए।

अनशनकै कारण स्वास्थ्य अवस्था नाजुक हुँदा पनि सरकार संवेदनशील नभएको डा. केसीका सहयोगी प्रतिम सुवेदीले बताए।  ‘सरकारी टोलीले अनशन तोड्नुस् भन्यो,’ उनले भने, ‘डा. केसीले मागहरु पूरा गर्न र छलफलका लागि सरकारले आधिकारिक रुपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडाउन राखेर टोलीलाई फिर्ता पठाइदिनुभयो ।’

जुम्लाबाट १९ औं अनशनमा रहेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी शिक्षण अस्पतालमा छन् । जुम्लाबाट सुरु गरेको अनशनलाई निरन्तरता दिँदै उनी काठमाडौं आएका थिए ।

प्रकाशित मिति: : 2020-10-06 15:55:12

प्रतिकृया दिनुहोस्