कोरोना भाइरसबाट संक्रमित भएर वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थकलाई अभिवादन गरेका छन्। उनले गाडीमा अस्पताल बाहिर आएर अभिवादन गरेका हुन्।
संक्रमित भएर स्वास्थ्यमा समस्या देखिएपछि रेमडेसिभिसहितका औषधि दिइएका तथा अक्सिजन लेभल पनि कम भएका ट्रम्पले गुप्तचर सेवाको गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका हुन्। गाडीमा रहेका उनले मास्क मात्रै लगाएका थिए।
सामाजिक दूरीको समेत विरोध गर्दै आएका ट्रम्प गाडी चलाउनेहरुको सुरक्षा तथा संक्रमित भएको व्यक्तिले बाहिर यसरी आउनु उपयुक्त नरहेको भन्दै उनको गतिविधिको आलोचना भइरहेकाे छ।
७४ वर्षका ट्रम्पले लगातार कोरोना भाइरसलाई गम्भीर रुपमा लिएका थिएनन्। उनले कोरोना भाइरसलाई समान्य फ्लू जस्तो भन्दै आएका थिए। तर, ट्रम्पले साेमबार भाइरसबारे आफूले धेरै जानकारी पाएको बताए। उनले भिडियो सन्देशमा आफूले भाइरसबारे धेरै थाहा पाएको बताएका हुन्।
ह्वाइट हाउसले दिएको जानकारी अनुसार ट्रम्पलाई ज्वरो आएको छ। उनले थकान महसुस गरेको र स्वास लिन केही गाह्रो भइरहेको जनाइएको छ। तर, यसरी बाहिर आएर अभिनन्दन गरेका कारण उनी विवादित बनेको छ।
ह्वाइट हाउसले भने चिकित्सकहरुकाे स्वीकृतिमा राष्ट्रपति ट्रम्प केहीबेरका लागि गाडीमा बाहिर निस्किएको बताएको छ। तर, स्वीकृति दिने चिकित्सक को हुन् भन्ने बारे खुलाइएकाे छैन।
ट्रम्पका चिकित्सकले यसअघि ट्रम्पको स्वास्थ्य सुधारको क्रममा रहेको र सम्भवतः सोमबार डिस्चार्ज हुन सक्ने बताएका थिए। अस्पतालबाट फर्किएपछि उनले ‘क्वारेन्टाइन’ को नियम पछ्याउनु पर्नेछ। यतिबेला उनको परिवार पनि क्वारेन्टाइनमा बस्न विवश छन्।
ट्रम्पलाई कम्तीमा एकपटक अक्सिजनको सपोर्ट दिइएको छ। डा. शन कोन्लीले अक्सिजन लेभल दुईपटक कम भएको बताएका छन्।
उनलाई स्टेरोइड पनि दिन थालिएको छ। स्टेरोइड कोरोना भाइरसबाट संक्रमित भइ गम्भीर स्वास्थ्य अवस्था भएका बिरामीलाई दिइन्छ।
अमेरिकामा एक महिनापछि राष्ट्रपति चुनाव हुँदैछ। चुनावको मुखैमा आएर ट्रम्पमा संक्रमण पुष्टि भएको हो। क्वारेन्टाइनले दोस्रो राष्ट्रपतीय बहसलाई कसरी असर पार्नेछ भन्ने अझै स्पष्ट हुन सकेको छैन। निर्वाचनअघि राष्ट्रपतिका उम्मेदवारले डिबेटमा भाग लिने परम्परा १६४ वर्ष पुरानो हो।
दोस्रो बहस फ्लोरिडा राज्यको मायामिमा १५ अक्टुबर र तेस्रो २२ अक्टुबरलाई तय गरिएको छ।
आउँदो नोभेम्बर ३ मा हुने चुनावमा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने छन्।