प्रधानमन्त्रीलाई देउवाकाे चेतावनी: डा केसीको जीवनरक्षाका लागि ढिलाई गरे त्यसको दुष्परिणाम गम्भीर हुनेछ

फाइल तस्वीर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीसँग तत्काल वार्ता गरेर उनको जीवनरक्षा गर्न सरकारसँग अपिल गरेका छन्।

सभापति देउवाले आइतबार विज्ञप्ति जारी गर्दै डा केसीका माग पूरा गर्न  प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपिल गरेका हुन्। 

चिकित्सा शिक्षा सुधारको माग राखेर १९औं अनशन जुम्लाबाट सुरु गरेको भए पनि केसी हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज छन्। आज मात्रै उनलाई श्‍वास फेर्न कठिन भएपछि अक्सिजन दिइएको छ।

डा केसीको अनशनको २१ दिन पुगिसक्दा पनि सरकारले वार्ता गरेर माग पूरा गर्न गम्भीरता नदेखाउनु अन्यन्तै दुःखद् रहेको उनले बताएका छन्।

‘चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदम समेतका उहाँका मागहरु केवल एक व्यक्तिका माग होइनन्। प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यवद्धता जनाएका मागहरू हुन्। जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो। तर सरकारले वार्ता गरेर माग पूरा गर्न गम्भीरता नदेखाउनु अन्यन्तै दुःखद् हो,’ देउवाले भनेका छन्।

उनले सरकारको उदासिन व्यवहार लोकतान्त्रिक प्रणालीभित्र कम्युनिष्टतन्त्रको अनुदार चरित्र भएको आरोप समेत लगाएका छन्।

‘जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो। तर सरकारले सुरूवातमा डा केसीप्रति दुव्र्यवहारपूर्ण व्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदासिन व्यवहार देखाउनुले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिष्ट तन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको छ,’ उनले भनेका छन्।

डा केसीसँग सरकारले यसअघि गरेका सम्झौतालाई इमानदार भएर कार्यान्वयन गर्न देउवाले जोड दिएका छन्। साथै उनले डा केसीको जीवनरक्षाका लागि ढिलाई नगर्न र ढिलाई गरे त्यसको दुष्परिणाम गम्भीर हुने सरकारलाई चेतावनी दिएका छन्।

देउवाले आफ्नो नेतृत्वको सरकारले डा केसीका मागहरू पूरा गर्दै ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’ ०७४ कार्तिक २४ मा जारी गरेको भएपनि वर्तमान सरकारले त्यसलाई विस्थापित गर्नुको परिणाममा आजको स्थिति उब्जिएको बताएका छन्।

प्रकाशित मिति: : 2020-10-04 17:34:56

प्रतिकृया दिनुहोस्