पाकिस्तानको लहोरमा बस्ने मेरा फिल्ममेकर मित्र फर्जाद नबीले केही दिनअघि ह्वाट्सएपमा मेसेज पठाए।
मेसेजमा एउटा भिडिओ थियो- एउटी बच्ची कुनै गीतको बोलमा मुख चलाउँदै अभिनय गरिरहेकी।
त्योसँगै एउटा एक शब्दको प्रश्न पनि थियो, 'नेपाली?'
भिडिओमा देखिने ती सानी बच्ची रातो स्कर्ट, रातो-सेतो फूलको फुर्का भएको सेतो टपमा कम्मर मर्काउँदै, हातले इसारा गर्दै 'लिपसिंक' गर्दै थिइन्। गीतको बोल थियो, 'कति माया गर्छौ...भन्नै सक्दिनँ...'
उनको अनुहारको एक्सप्रेसन र डिम्पल पर्ने गाला निकै क्यूट थियो।
नेपाली भाषाको गीत भएकाले मैले 'त्यस्तै देखिन्छ, होला!' भन्ने जवाफ फर्काएँ। अनि उनलाई त्यो भिडिओ कहाँबाट पाएको भनेर सोधेँ।
उनको जवाफ थियो, 'साथीले फरवार्ड गरेको।'
नेपाली बच्चीको भिडिओ यसरी पाकिस्तान हुँदै मलाई फरवार्ड हुनु भनेको त्यो निकै 'भाइरल' भएको संकेत थियो।
मलाई पनि जिज्ञासा भयो। मैले सामाजिक सञ्जालमा खोज्न थालेँ। दुई मिनेटमा सबै जानकारी हत्केलाको स्मार्टफोनमा हाजिर भयो।
ती बच्चीको नाम समाइरा थापा रहेछ, उमेर दुई वर्ष।