प्रधानमन्त्रीका तीन सल्लाहकार र एक स्वकीय सचिवमा काेराेना संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार तथा एक स्वकीय सचिवमा कोरोना संक्रमण देखिएको छ।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्र भण्डारीको कोरोना संक्रमण देखिएको हो।

शुक्रबार प्रधानमन्त्रीको सचिवालय तथा सुरक्षाकर्मीसहित बालुवाटारमा कार्यरतहरुको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएकाे हाे।

रिमालले शनिबार अपराह्न आफ्नो ट्विटमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।

उनले लेखेका छन्,‘हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु।’

यता प्रेस सल्लाहकार थापाले पनि आफ्नो सम्पर्कमा आएका सबैजनासँग सावधानी अपनाउन आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना(पोजिटिभ देखियो, यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु।’
 

उनले  केही सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको बताए। ‘केही रक्षाकर्मीमा पनि संक्रमण देखिएको छ। तर, सबैलाई व्यक्ति रुपमा जानकारी आएकाले यति नै भन्ने यकिन छैन’, थापाले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको भने शुक्रबार पीसीआर परीक्षण गरिएको छैन।

 

प्रकाशित मिति: : 2020-10-03 17:41:00

प्रतिकृया दिनुहोस्