प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ

प्रदेश नम्बर ५ काे प्रदेश–सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउन प्रस्ताव गरेको छ। प्रदेश सभाकाे शुक्रवारकाे बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सरकारका तर्फबाट उक्त प्रस्ताव पेश गरेका हुन् ।  

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो।

राप्ती नदी नजिकै रहेको भालुवाङ बजार दाङको  राप्ती गाउँपालिकामा पर्छ। यो प्रदेश मध्ये भागमा रहेको भालुवाङबाट पहाडी जिल्ला प्युठान, अर्घाखाँची र रोल्पासमेत जोडिन्छन् भने कपिलवस्तु सीमामै पर्छ।

प्रदेश मन्त्रिपरिषदको निर्णयपछि प्रदेशसभामा उक्त प्रस्ताव दर्ता गरेको आन्तरिक मामिला मन्त्री कुल प्रसाद केसीले जानकारी दिए। 

मन्त्रिरिषदको निर्णयलाई प्रदेशसभाले पारित गर्नुपर्ने हुन्छ।

राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन। 

रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद थियो। प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए।

पूर्वमाओवादीले भने पार्टी एकीकरण हुनुअघि नै प्रदेशको राजधानी दाङमा राख्ने औपचारिक निर्णय नै गरिसकेको थियो।  तर, पूर्वएमाले खेमाभित्र चाहिँ राजधानी दाङ राख्ने कि बुटवलमा राख्ने भन्नेबारे नेताहरुको मत बाझिँदै आएको थियो। 

गत पुसमा सम्पन्न स्थायी कमिटी बैठकमा मुख्यमन्त्री पोखरेलले राजधानीबारे पार्टी केन्द्रले नै निर्णय गरिदिन आग्रह गरेका थिए। बागमती प्रदेशको राजधानीबारे पनि केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो। 

प्रकाशित मिति: : 2020-10-02 14:46:00

प्रतिकृया दिनुहोस्