डाक्टर केसीको माग सरकारले वार्तामार्फत सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले अनशनरत डाक्टर गोविन्द केसीलाई शुक्रबार भेटेका छन् । चिकित्सा क्षेत्रको सुधारलगायतका माग राख्दै १९ दिनदेखि अनशनरत वरिष्ठ चिकित्सक केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

पूर्वराष्ट्रपति यादवले डाक्टर केसीले सत्याग्रहमार्फत जनताको माग उठाएकाले सरकारले वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताए ।

‘डाक्टर केसीले प्राणकै आहुति दिन तयार भई जनताको माग उठाउनु भएको छ । सरकारले पनि वार्तामार्फत नै यसको समस्या समाधानका लागि पहल गर्नुपर्छ,’ पूर्वराष्ट्रपति यादवले भने।

पूर्वराष्ट्रपति यादवले सत्याग्राही केसी र महात्मा गान्धी जस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको उदाहरण दिए । केसीको मागलाई सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै ऐक्यबद्धता जनाउन विगतमा पनि आएको र आज अहिंसा दिवसको संयोग परेको पनि यादवले सुनाए ।

डाक्टरको केसीको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै पूर्वराष्ट्रपति यादवले राष्ट्रकै अमूल्य सम्पत्तिका रुपमा रहेका केसीको ज्यान बचाउन आग्रह गरे ।

केसीको हेरचाह गर्नेदेखि उपचार गर्ने सबैको प्रशंसा गर्दै सरकारलाई गम्भीर भएर सोच्न पनि पूर्वराष्ट्रपति यादवले आग्रह गरे ।

प्रकाशित मिति: : 2020-10-02 12:14:13

प्रतिकृया दिनुहोस्