नारायण रायमाझीले १७ वर्षअघि कवि माधवप्रसाद घिमिरेले रचेको गीत आफ्नो संगीतमा रेकर्ड गरेका थिए।
रचना हो–
उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले
जान्दिनँ म एकैचोटि, के भो कुन्नि कहिले
घिमिरे २०२४ सालमा रचेको उक्त गीत २०६० सालमा जगदिश समाल र सपनाश्रीले गाउँदा धेरैले रूचाएका थिए। लोक-आधुनिक शैलीको संगीत कवि घिमिरेलाई पनि मन परेको थियो।
तर रायमाझीले गीतका तीन अन्तरामध्ये दुई अन्तरा मात्रै रेकर्ड गरेका थिए। त्यसैले कवि घिमिरे रायमाझीलाई बेलाबेला भन्थे रे– मेसो मिलाएर त्यो अर्को अन्तरा पनि रेकर्ड गराउनू है।
रायमाझी आफूले श्रद्धा गर्ने र आफूलाई माया गर्ने घिमिरेको इच्छा पूरा गर्न सही समयको पर्खाइमा थिए। त्यो समय कुर्दाकुर्दै गत भदौ २ मा कविवर घिमिरेको निधन भयो।
अनि, त्यो गीतको एउटा अन्तरा थपेर घिमिरेलाई सुनाउने रायमाझीको चाहना अपूरै रह्यो।
प्रत्यक्ष सुनाउन नपाए पनि उनले घिमिरेप्रति श्रद्धाञ्जली अर्पण दिँदै उनको निधनपछि यो काम पूरा गरेका छन्।
पछिल्लो पटक थपिएको अन्तरा यस्तो छ–
बेनीघाटमा उनीसित भेट भयो अस्ति
आज लाग्छ सधैंभरि सँगै थिइन् जस्ती
उनको अर्पण पहिले हो कि मेरो अर्पण पहिले
जान्दिनँ म एकैचोटि के भो कुन्नि कहिले
रि-रेकर्डिङ गरिएको गीतलाई रायमाझी कवि घिमिरेसँगको आफ्नो सम्झना र सम्मानका रूपमा लिन्छन्।
रायमाझीले पुरानै लयमा नयाँ पुस्ताका गायक प्रवीण भेडवाल र रचना रिमालको स्वरमा गीत रेकर्ड गराएका हुन्। प्रवीण र रचना नेपाल आइडल सिजन ३ मा सहभागी भएका अहिलेको समयका चर्चित गायक हुन्।
प्रवीण नेपाल आइडलमा दोस्रो भएका थिए भने रचना उत्कृष्ट ८ बाट बाहिरिएकी थिइन्।
रायमाझी भन्छन्, 'यो गीत फेरि जगदिश र सपनाकै स्वरमा रेकर्ड गराउन मन थियो। तर उहाँहरू नेपालबाहिर भएकाले नयाँ पुस्ताका गायक रोजेँ।'
गीत सुहाउँदो आवाजको खोजीमा रोजेका दुई नयाँ पुस्ताका गायकबारे रायमाझी भन्छन्, 'प्रवीण र रचना दुवै प्रतिभावान् भएकाले उनीहरूसँग काम गरेको हुँ।'
रायमाझीको छनोट अहिले सही सावित भएको छ। नयाँ गीतको छोटो समयमै युट्युबमा ३६ लाखमाथि भ्युज पुगिसकेको छ। हजारौं स्रोता-दर्शकले सकारात्मक प्रतिक्रिया दिएको गीतमा टिकटक बनाउनेको संख्या पनि प्रशस्तै छ। यो टिकटकमा भाइरलमध्येको गीत बनेको छ।
दुई फरक समयका दर्शक-स्रोताले मन पराएको गीतबारे रायमाझी भन्छन्, 'पुरानै पुस्ताले मन पराएको गीत नयाँ पुस्ताका स्रोतालाई कस्तो लाग्ला भन्ने कताकता डर थियो। सबैले मन पराइँदिदा एकदमै खुसी छु।'
यो खुसीबीच उनलाई एउटै खेद छ- राष्ट्रकविलाई थपिएको अन्तरा पनि सुनाउन पाएको भए कति जाती हुन्थ्यो!