गोरखबहादुरको गुहार : निर्मलाको जस्तै नहोस् नातिनी सम्झनामाथिको अपराध

बझाङ चैनपुरस्थित जिल्ला प्रशासन कार्यालयमा मंगलबार सर्वपक्षीय छलफल हुँदै थियो, जहाँ सम्झनाका हजुरबा गोरखबहादुर कामी पनि थिए । ‘हामी गरिब छौँ, तर मेरी नातिनीको हत्यारा समातिएर पनि उम्कने हुन् कि भन्ने डर छ, जसरी हुन्छ न्याय दिनुहोस्,’ उनी हात जोडेर गुहार माग्दै थिए । तर, यसो भन्दाभन्दै उनी भिडकै बीचमा भक्कानिए । आँसु पुछे र एकछिनपछि आंशकापूर्ण भावमा भने, ‘निर्मला पन्त बलात्कार र हत्याको घटनामा पनि दोषी उम्किए, सजाय पाएनन्, मेरी नातिनीको पनि त्यस्तै गुपचुप गर्दिन्छन् कि !’

बोहरा गाउँका टाढाबाठा र आफूहरूभन्दा धनी र पहुँचवाला भएका कारण प्रहरी र सरकारले न्याय नदिने हो कि भन्ने आशंका गोरखबहादुरको परिवारमा छ । उनको गाउँमा धेरै खेतीपाती गर्ने जमिन छैन । भएको आम्दानीले परिवारको दुई छाक टर्दैन । गोरखबहादुरले आरनमा हातहतियार तिखारेको आम्दानीले परिवार पालिएको छ । सम्झना गोरखबहादुरकी सबैभन्दा ठूली सहयोगी, ठूली नातिनी थिइन् ।

सम्झनाका बुबा (३५) बिजुली कामी पहिले पनि कामका लागि भारत जान्थे । ठूलो परिवारको आर्थिक बोझ धान्न नसकेपछि उनी चार वर्षदेखि परिवारै लिएर भारतको बैंग्लोर बस्न थाले । ३२ वर्षे श्रीमती धौली कामी, छोरो र दुई छोरी उनीसँगै थिए । गाउँको घरमा ठूला तीन छोरी, बुबाआमा र बहिनी बस्छन् । ‘मेरी फूलजस्ती सम्झनालाई राक्षसले चुँडिदियो, ऊ मेरी सहारा थिई, घरको काम मात्रै होइन, मेलापातको काम पनि उसले आधा उकास्थी,’ गोरखबहादुर भन्छन् । उनी आफू बिरामी हुँदा पानी दिने नातिनी गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सक्दैनन् । ‘केही परिहाले नातिनी छँदै छ भनेर ढुक्क हुने दिन गए, राक्षसले हाम्रो खुसी चुँडिदियो,’ उनी भन्छन् । 

प्रकाशित मिति: : 2020-10-01 13:07:32

प्रतिकृया दिनुहोस्