‘चीनका लागि नेपाली राजदूत पाण्डेले चिनियाँ पत्रिकामा दिएको अन्तर्वार्ता कूटनीतिक संवेदनशीलता विपरीत’

काठमाडौं, असोज १३ : चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले ग्लोबल टाइम्ससँग दिएको अन्तर्वार्तामा नेपालको भू-राजनीतिक संवेदनशीलता ख्याल नगरेको भन्दै आलोचित बनेका छन्। 

सोमबार चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्समा अन्तर्वार्ता दिने क्रममा उनले भारतीय सञ्चारमाध्यमले नेपाल-चीन सम्बन्धमा दरार पैदा गर्दा झुटा समाचार सम्प्रेषण गरेको प्रतिक्रिया दिएका थिए। उनले भारत नेपालको सीमा मिच्न उद्धत रहेको विभिन्न घटनाक्रमले पुष्टि गरेको समेत टिप्पणी गरेका थिए।

पाण्डेको उक्त अन्तर्वार्तालाई अपरिपक्व कूटनीतिका रुपमा विज्ञहरुले हेरेका छन् भने नेपालको भू-राजनीतिक संवेदनशीलतालाई पाण्डेले नजरअन्दाज गरेको टिप्पणी गरेका छन्।

परराष्ट्र मामिला जानकार दिनेश भट्टराईले एउटा देशमा बसेर अर्को देशविरुद्ध बोल्ने काम कूटनीतिक सिद्धान्त विपरीत रहेको बताए। राजदूत पाण्डेले नेपाल-भारत सम्बन्धको संवेदनशीलतालाई नजरअन्दाज गर्ने काम गरेको भट्टराईको भनाइ छ। 

‘परराष्ट्रमन्त्री भएको मान्छेले बोल्नै पर्ने अवस्था भएर त्यस्तो बोल्नु भएको होला। त्यो उहाँले नै जान्नुहुन्छ तर एउटा देशसँग सम्बन्ध सुदृढ बनाउने जिम्मेवारी पाएको मान्छेले अर्को देशलाई होच्याउने काम गर्ने र चीनबाट भारतविरुद्धको कार्ड फाल्ने काम त परिपक्व कूटनीतिज्ञले गर्ने काम होइन,’ भट्टराईले काठमाडौंप्रेससँग भने।

यस्तै, चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्कीले पनि हालका राजदूत पाण्डेले भू-राजनीतिक संवेदनशीलतालाई ख्याल नगरेको पाइएको बताएका छन्। चीन र भारत दुवैले शीतयुद्धमा नेपाललाई प्रयोग गर्न खोजेकाले त्यसमा कोही पनि प्रयोग हुन नहुने उनले बताए। 

प्रकाशित मिति: : 2020-09-29 18:09:44

प्रतिकृया दिनुहोस्