पर्यटन क्षेत्र उकास्न थाईल्याण्डले गरेको प्रयासबाट नेपालले पनि केही सिक्ने कि!

पर्यटकीय मुलुक थाइल्याण्डले अक्टोवरदेखि ९ महिनाको विशेष पर्यटक भिसा प्रदान गर्ने भएको छ। लामो समयको लकडाउनले थला परेको थाइ पर्यटनमा चहलपहल बढाउन थाई मन्त्रिपरिषद्ले धेरै समयसम्म बस्न चाहने पाहुनालाई 'विशेष पर्यटक भिसा अनुमोदन गरेको हो। यो भिसाले पर्यटकहरू एक वर्षमा २७० दिनसम्म थाइल्याण्डमा घुम्दै बस्न सक्नेछन्। सन् १९६० भन्दा अगाडि अस्तित्व मात्रै रहेको थाई पर्यटन उद्योग भियतनाम युद्वकै कारण सुरू भएर विश्वको उत्कृष्ट गन्तब्य कसरी बन्यो?


पर्यटकीय मुलुक थाइल्याण्डले विदेशीलाई विशेष पर्यटक भिसा प्रदान गर्ने भएको छ। थाइल्याण्ड आउने पर्यटकले १४ दिनको क्वारेन्टाइन पार गरेपछि ९० दिनको बसाइपछि पुनः २ पटकसम्म ९०-९० दिनको नविकरण गरि कुल २७० दिनसम्म बस्न मिल्ने गरि भिसाको नीतिमा थाइ सरकारले परिवर्तन गरेको बैंङ्कक पोस्टले जनाएको छ।

पर्यटन मन्त्रालयले थाइल्याण्डमा पहिलो अन्तर्राष्ट्रिय टुरिष्ट ब्याच ल्याउने प्रतिबद्धतासमेत गरेको छ। बैंकक प्राथमिक गन्तव्यमा राख्दै पर्यटन अपरेटरलाई तत्कालै बजारिकरणको योजना अघि बढाउन चाहेको मन्त्रालयले जानकारी गराएको छ ।

‘टुर अपरेटरहरूले बैंकक घुम्न आउने सम्भावित ग्राहकलाई उनीहरुको बसाई लम्ब्याउन प्याकेजको रूपमा विशेष पर्यटक भिसा (एसटीवी) को प्रवर्दन गर्न सक्नेछन्,’ पर्यटन तथा खेलमन्त्री फिफाट रच्चाकिटप्रकर्णले भने।

थाइल्याण्डमा १४ दिन क्वारेन्टाइन बसेपछि पर्यटकहरू देशको कुनै पनि भागमा स्वतन्त्र रूपले घुम्न पाउँछन्। तर आवासको आरक्षण भने अग्रिम गर्नु पर्नेहुन्छ।

थाइल्याण्ड आउने पर्यटकले स्वास्थ्य र यात्रा बीमा दुबै साथ अनिवार्य लिएर आउनुपर्ने हुन्छ।

लामो समयको कोरोना महामारीपछि थला परेको पर्यटन क्षेत्र उकास्न थाइल्याण्डले अन्तर्राष्ट्रिय पाहुना लक्षित लामो बसाईको सुविधासहित विशेष पर्यटक भिसा ल्याउन लागेको हो।

सरकारले मासिक १२ सय जनालाई विशिष्ट पर्यटक भिसा प्रदान गर्ने योजना बनाएको छ। कोभिद महामारी अघि अमेरिका, क्यानाडासहित अधिकांश युरोपियन मुलुकलाई ३० दिनसम्मको भिसाको आवश्यक पर्दैन थियो।

सन् २०१७ मा थाइल्याण्डले १० वर्षको लागि ५० वर्ष माथिका विदेशीको हकमा अवकाश भिसाको नियमसमेत ल्याएको थियो।

यो भिसा अष्ट्रेलिया, क्यानाडा, डेनमार्क, जर्मनी, फिनल्याण्ड, फ्रान्स, इटाली, जापान, नेदरल्याण्ड्स, नर्वे, स्विडेन, स्विजरल्याण्ड, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिका जस्ता १४ विकशित राष्ट्रका नागरिकको लागि उपलब्ध गराएको थियो।

६० को दशकमा उदाएको थाइल्याण्ड कसरी पर्यटक हब बन्यो?

सन् १९५० को उत्तरार्दसम्म थाइल्याण्डमा कुनै संगठित पर्यटन उद्योग थिएन। १९५९ मा सरकारले पहिलो पल्ट पर्यटक प्राधिकरण गठन गरेको थियो।

सुन्दर प्राकृतिक सामुन्द्रिक तट, सुनौला मन्दिरहरू, रात्रिकालिन बजारको चहलपहल, ऐतिहासिक स्थल र न्यानो आतिथ्यले थाइल्याण्ड लामो समयदेखि विश्व प्रसिद्ध पर्यटक गन्तब्यको स्थान ओगट्न सफल भयो।

करिब ८ करोड जनसंख्या भएको मुलुकले सन् २०१९ मा जनसंख्याको आधा अर्थात ३.९ करोड पर्यटक भित्र्याएर वार्षिक पर्यटन रेकर्ड तोडेको थियो।

देशको अर्थव्यवस्थामा पर्यटन उद्योगको प्रमुख योगदान रहेको छ। सन् २०१९ मा पर्यटन क्षेत्रले ५२९ विलियन डलर कमाएको थियो भने करिब ४५ लाखले प्रत्यक्ष रोजगारी रोजगारी पाएका थिए।

१९६० भन्दा अगाडि अस्तित्व मात्रै रहेको थाई पर्यटन भियतनाम युद्वपछि सुरू भएर थाइल्याण्ड आज विश्वको उत्कृष्ट गन्तब्यमा परेको छ।

भियतनाम युद्वको बेला ३० लाख अमेरिकी सैनिक दक्षिण पूर्व एसियामा तैनाथ थिए। थाइल्याण्ड मुख्य सहयोगी बन्दै  ७ वटा एयरवेसको मुख्य केन्द्र बन्यो। द्वन्द्वको चरम उत्कर्षमा थाइल्याण्ड भरि ५० हजार सैन्य कर्मचारी खटाइएको थियो।

भियतनमामा अमेरिकी संलग्नता बढ्दै गयो र थप स्रोत थाइल्याण्डमा खनिँदै गयो। कम्युनिजम् विरूद्धको लडाईँमा अमेरीकाले राजमार्ग र बन्दरगाह निर्माणको साथै जीवनस्तर सुधार गर्ने र अन्य पूर्वाधारसँगै सामाजिक परियोजनाको लागि ठूलो सहयोग पठायो। 

अमेरिकी सैनिकको लागि महिनौं दिन कहालिलाग्दो जंगलमा बिताएका दिनबाट आराम र छुट्टि मनाउने प्रमुख केन्द्र पनि बन्यो बैंकक। रंगिचंगी बत्तिले सुसज्जित रात्रिकालिन शहर, सुन्दर थाइ महिलाद्वारा सेवा प्रदान गर्ने मसाज पार्लर र शान्दार रात्रि क्लब ती सैनिकलाई आकर्षणको थलो बन्यो।

अमेरिकी सैनिक खर्चालु हुन्थे, सन् १९६७ ताका उनीहरूले ११ मिलियन डलर खर्च गरेको जर्नल र सञ्चार माध्यमले उल्लेख गरेको छ। सैनिकहरुको संख्या बढेसँगै अन्य पर्यटक पनि बढ्दै गए। त्यसको साथै पर्यटन पूर्वाधारमा पनि थाइल्याण्डले ब्यापक विस्तार गर्‍यो।

अमेरिकी सैनिक र व्यवासायको लागी निर्माण गरिएको पुर्वधारमा १.६ विलियन डलर मिलिटेरी सहयोगको खर्च आजको थाइ पर्यटन उद्योगको जग बसाल्यो ।

यसरी युद्वका कारण सैनिकबाट सुरू भएको थाइ पर्यटन केही वर्षदेखि अमेरिकीलाई जित्दै धेरै खर्चालुमा चिनियाँ पर्यटकले उभिए।

थाइल्याण्डमा पर्यटकका लागि घुम्ने मुख्य ठाउँ फुकेट सिटी, सिफी इसल्यान, बैँकक, छिङमाई, पाइ, कान्छाना बुरी, खाओसो नेशनल पार्क र लामपाङ हुन् । थाइल्याण्ड सरकारले पताया क्षेत्रलाई छुट्टै ‘रेड एरिया’ यौन व्यवसाय क्षेत्र छुट्याएर यौन व्यवसायलाई छूट दिएको छ ।

थाइल्याण्ड दक्षिण पूर्वमा अवस्थित एक रमणीय अनि रमाइलो र सुन्दर देश हो । थाइल्याण्ड कूल १४ द्वीप मिलेर बनेको छ । थाइल्याण्डमा विशेषगरी बुद्ध (९३ प्रतिशत), इस्लाम (करीब ५ प्रतिशत) र (अन्य २ प्रतिशत) धर्म मान्ने मानिस छन् ।

थाइल्याण्डको क्षेत्रफल रु पाँच लाख १३ हजार १२० किलोमिटर रहेको छ । पानीको प्रतिशत ०.४ प्रतिशत (दुई हजार २३० किलोमिटर रहेको छ । सन् २०१६ को तथ्याङ्कलाई हेर्दा थाइल्याण्डको जनसङ्ख्या करीब रु ६ करोड ८८ लाख ६३ हजार ५१४ रहेको छ । सन् २०१० मा करीब ६ करोड ४७ लाख ८५ हजार ९०९ थियो । थाइल्याण्डको आम्दानीको मुख्य स्रोत पर्यटन (कूल आम्दानीको २० प्रतिशत) हो ।

यतिबेला विश्व कोरोनाभाइरस महामारीले आक्रान्त पारेको छ। विगत ६ महिनादेखि सम्पूर्ण मानव जीवनसँगै व्यापार व्यवसाय उथुलपुथुल पारेको अवस्थामा नेपाल पनि अछुतो रहेन। थला परेको अर्थतन्त्र व्यूँताउन विभिन्न राष्ट्रहरु आ-आफ्नै तरिकाले अघि बढेका छन्।

त्यस्तै पर्यटक आकर्षित गर्न न्यूजिल्याण्डले भर्खरै भारतीय पर्यटक लक्षित गर्दै नयाँ भर्चुयल अभियान ‘मेसेजस फ्रम न्यूजील्याण्ड’ भन्ने नारासहित गन्तव्यको प्रवर्द्धन गर्न शुरू गरेको छ।

‘अभियानमा न्यूजील्याण्डले दैनिक आफ्नो अन्तर्राष्ट्रिय परिवारसँग आशा र हेरचाहको भिडियो सन्देश साझा गर्ने सुविधा प्रस्तुत गर्दछ। जसले उनीहरूको लागि महत्त्वपूर्ण छ भन्ने बारेमा अनौंठो किवी दृष्टिकोण प्रस्तुत गर्दैछ’, टुरिजम न्यूजील्याण्डले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ।

यो अभियान सामाजिक र डिजिटल च्यानलमार्फत जारी गरिने भनिएको छ।

कोरोनाबाट थलिएको पर्यटन क्षेत्र व्यूँताउन विभिन्न देशले नया भिसा नियम, भर्चुयल सन्देश, होलिडे छुट, गन्तव्यको प्रवर्धनलगाएत नयाँ पर्यटकीय योजनाहरू आक्रमक रूपमा अघि सारेका छन्।

यी देशबाट नेपालले पनि कोभिड-१९ महामारीपछि थलिएको पर्यटन पुनर्जागरण गर्न केही पाठ सिक्ने हो कि? सम्बन्धित निकायले बैलेमा यतातर्फ ध्यान दिने कि!

- एजेन्सीजको सहयोगमा  

प्रकाशित मिति: : 2020-09-26 13:09:48

प्रतिकृया दिनुहोस्