हामीलाई खतरनाक हतियारभन्दा मास्ककाे खाँचाे छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर यतिबेला अत्यधिक मात्रामा मास्कको आवश्यकता र बढीभन्दा बढी स्वास्थ्य सुरक्षाका सामग्री चाहिएको बताएका छन्। 

‘हामीलाई बढी मात्रामा जीवन जोगाउने सामाजिक उपाय जरुरी छ, न कि जीवन सकाउने खतरनाक हतियार’,७५ औँ महासभामा काठमाडौंबाट अप्रत्यक्षरुपमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सम्बोधन गर्दै उनले भने, ‘नेपालले बारम्बार भन्दै आएका छ, व्यापक मात्रामा जनधनको क्षति पुर्‍याउने शस्त्रास्त्रबाट पूर्ण रुपमा अलग रहँदै निःशस्त्रीकरणमा लाग्नुपर्छ।’

उनले बाह्य कारणले गर्दा जलवायुमा संकट देखापरेको जनाउँदै त्यसबाट जोगिने सर्वोत्तम उपायको खोजी आवश्यक रहेकामा जोड दिए। नेपालका हिमाल तथा वनजंगलले गर्दा वातावरणलाई शुद्ध बनाउन सहयोग पुगेको तथा नेपालले ६० प्रतिशत बढी भूभागमा पारिस्थितिक प्रणालीलाई सन्तुलित बनाउन मेहनत गरेको उनले उल्लेख गरे।

जलवायु परिवर्तनका कारण पारिस्थितिक प्रणालीमा असर परेको तथा हाम्रा हिमालयहरु पग्लन थालेकाले त्यसले पार्ने प्रभावका बारेमा गम्भीर भएर सोच्ने बेला समेत आएको उनको भनाइ थियो।

जलवायु परिवर्तका कारण हिमनदी पग्लँदा त्यसले तल्लो तटीय क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति र समुदायमा पार्ने प्रभाव आफैमा विनाशकारी रहेको जनाउँदै प्रधानमन्त्रीले भने ‘हामी आग्रह गर्न चाहन्छौँ, पेरिस घोषणापत्रको पूर्ण र प्रभावकारी कार्यान्वयन गर्दै जलवायुका क्षेत्रमा हुने वित्तीय सहयोगको सहज पहुँचको वातावरण बनोस्।’

मानवीय कारणले समग्र सामुद्रिक पर्यावरणमा परेको नकारात्मक असरका बारेमा नेपालले गम्भीर चासो राख्दै आएको जनाउँदै उनले असाध्यै नाजुक अवस्थामा पुगेका तटीय क्षेत्रका देशका लागि सामुद्रिक पारिस्थितिक प्रणालीलाई संरक्षण गर्नु आफैमा महत्वपूर्ण रहेको बताए।

प्रकाशित मिति: : 2020-09-26 09:09:26

प्रतिकृया दिनुहोस्