चीनले हुम्लामा नेपाली भूमि मिचेको छैन भन्नु हतारको टिप्पणी : कांग्रेस

चीनले हुम्लामा नेपाली भूमि मिचेको छैन भनेर सरकारले दिएको प्रतिक्रियालाई प्रमुख विपक्षी नेपाली कांग्रेसले हतारको टिप्पणी भएकाे बताएकाे छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले टिप्पणी गरेको बताएका हुन्।

‘प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन’ उनले भनेका छन्।

अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्ष पछि सीमा मिचिएको हो/होइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का  नराखेको प्रवक्ता शर्माले बताएका छन्।

सीमासम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यमसमेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने आफूहरुको बुझाइ रहेको कांग्रेसले बताएको छ।

‘बिहीबार साँझसम्म स्थलगत अध्ययन टोली सीमाबाट हुम्लाको सदरमुकाम फर्किए पश्चात सीमा मिचिएको ठहर भए चीन सरकार समक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रिया मार्फत् समाधानमा पुग्न सरकारलाई प्रतिपक्षी दलका तर्फबाट सचेत गराउँदछौं,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको कांग्रेसले जनाएकाे छ।

बुधबार परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सीमा समस्या नभएको बताएका थिए। हुम्लामा नेपाली भूमि मिचेर चीनले भौतिक संरचना निर्माण गरेको भनेर आएका समाचारप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै मन्त्री ज्ञवालीले त्यसमा सत्यता नभएको बताएका थिए।

मन्त्री ज्ञवालीका अनुसार यस्तै खबर २०७३ मा पनि आएको थियो। त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभाग लगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत गरेको भन्दै उनले भनेका छन्, ‘बनेका घरहरू नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको भनेर प्रतिवेदन दिइएको रहेछ।’

लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ बुधबार भेटिएको थियो।

 हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको जानकारी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिए।

उनका अनुसार २०६६ सालमा पनि सोही ठाउँमा चिनियाँ पक्षले तीनवटा भवन निर्माण गरेको थियाे। र, पछि बिरोध भएपछि निर्माण कार्य रोकिएको थियाे। 

प्रकाशित मिति: : 2020-09-24 13:46:29

प्रतिकृया दिनुहोस्