मुकेश पोखरेल
रुपन्देहीको रोहिणी गाउँपालिका–४ का रामबहादुर खवास (३५) ले अँधियामा लिएको साढे तीन बिघासहित चार बिघा जग्गामा धान लगाएका छन्। गत वर्ष प्रतिकिलो रु.१४ मा किनेको युरिया मलका लागि उनले यस वर्ष रु.४० तिरे।
तर, त्यति दाममा मल पाउन पनि उनले सास्ती त उठाउनुप¥यो नै, थप खर्च पनि गर्नुपर्यो। धानमा झार गोडमेल गरेर मल हाल्ने समय नेपाली बजारमा युरिया नपाएपछि चोर बाटोबाट सीमावर्ती भारतीय बजारमा निर्भर हुनुपरेको उनको पीडा छ।
भारतीयले सीमासम्म ल्याएको मल लिन उनी आफैं पुगेका थिए। “सीमासम्म ल्याउने मानिस (क्यारियर) लाई प्रतिबोरा एक सय दिनुपर्यो”, उनी भन्छन्। उनले चार बिघा खेतका लागि ८ बोरा यूरिया (३६० किलो) खरीद गरे। युरिया मलका लागि गत वर्ष भन्दा रु. ३६ बढी तिर्नुपर्दा खवासको गत वर्षभन्दा रु. १२ हजार ९६० बढी खर्च भयो।
यस्तो समस्या खवासले धानको बीउ ल्याउँदा पनि भोग्नुपर्यो। धानको ब्याड राख्ने वेला सहज रुपमा बीउ उपलब्ध नहुँदा विगत वर्षमा भन्दा दोब्बर तिर्न बाध्य भएको उनले सुनाए। उनका भनाइमा विभिन्न जातका एक सय किलो धानको बीउ किन्दा गत वर्ष भन्दा यसपाली साढे ६ हजार रुपैयाँ बढी तिर्नुपर्यो।
कोरोनाभाइरस संक्रमण रोकथामका लागि लगाइएको बन्दाबन्दीका कारण सीमामा सहज आवतजावत नहुँदा भारतबाट बीउ ल्याउनेले बोलेजति रकममा किन्नुपरेको खवासको भनाइ छ।
समयमा बीउ, मल नपाउने समस्या खवास एक्लैको होइन। खेतीपाती गर्ने सबै किसानले यस्तै कठिनाइका बीच किसानी कर्म गर्दै आएका छन्।
रोहिणी गाउँपालिका–४ कै जीवनराज थारु (५८) ले ५ बिघामा धान लगाएका छन्। उनले ५८५ किलो युरिया मल खवासले जस्तै भारतीय बजारबाट ल्याए। उनको गत वर्ष भन्दा मलमा रु. २१ हजार ६० बढी खर्च भयो।
थप सामग्री : https://www.himalkhabar.com/news/118603