रानीपोखरी बीचमा नयाँ खालको मन्दिर देखेर छक्क नपर्नु !

सेतोपाटी

काठमाडौं
मल्लकालीन 'ग्रन्थकुट' शैलीमा पुनर्निर्माण गरिएको रानीपोखरीको बालगोपालेश्वर मन्दिर। तस्बिर: नारायण महर्जन/सेतोपाटी

लबालब पानी भरिएर रानीपोखरी पुरानै स्वरूपमा फर्किएको छ। बीचको बालगोपालेश्वर मन्दिरले भने धेरैलाई छक्क पार्छ।

धेरैलाई लाग्न सक्छ– यो के हो? रानीपोखरीको बीचमा यस्तो मन्दिर त पहिले थिएन!

सही हो। यो मन्दिर जुन स्वरूपमा बनेको छ, त्यो हामीले कहिल्यै देखेका थिएनौं। पुरानो तस्बिर हेर्ने हो भने पनि फरक छुट्टयाउन कठिन हुन्न।

अब प्रश्न उठ्छ– यो फरक किन त?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बालगोपालेश्वर मन्दिर जुन ढाँचामा बनाएको छ, खासमा त्यसको वास्तविक स्वरूप नै यही हो। भुइँचालोअघि हामीले देख्दै आएको ढाँचा चाहिँ विदेशी नक्कल थियो।

रानीपोखरी मन्दिरको यो स्वरूपलाई 'ग्रन्थकुट' वा 'शिखर' शैली भनिन्छ। आजभन्दा ३ सय ५० वर्षअघि राजा प्रताप मल्लले यही शैलीमा मन्दिर बनाएका थिए, जुन १ सय ७५ वर्षअघिको चित्रबाट देखिन्छ। यो रानीपोखरीको अहिलेसम्म उपलब्ध पुरानो चित्र हो।

प्रुसियाका राजकुमार वाल्डेमर सन् १८४४ देखि १८४६ सम्म श्रीलंका, भारत र नेपाल भ्रमणमा निस्केका थिए। त्यसैबीच १८४५ फेब्रुअरी ५ देखि मार्च मध्यसम्म उनले काठमाडौं उपत्यका र नुवाकोट भ्रमण गरे। उनको भ्रमण डायरीमा नेपालको अध्याय पनि छ, जसमा रानीपोखरीको उक्त चित्र संकलित छ। चित्रमा 'रानी के ताल' भनिएको छ।

त्यति बेला राजा–महाराजा विदेश भ्रमणमा जाँदा कवि, कलाकार तथा साहित्यकार पनि सँगै लैजान्थे। यो चित्र भ्रमण दलकै चित्रकारले बनाएका हुन् वा राजकुमार आफैंले भन्ने प्रस्ट छैन। डायरीमै संकलित चित्रले रानीपोखरीको तत्कालीन स्वरूप झल्काउँछ, जुन ग्रन्थकुट शैलीको छ।

प्रुसियाका राजकुमार वाल्डेमर सन् १८४५ फेब्रुअरीमा नेपाल भ्रमणमा आएका थिए। उनको भ्रमण डायरीको नेपाल अध्यायमा संकलित रानीपोखरीको तत्कालीन चित्र। चित्रमा ‘रानी के ताल’ भनिएको छ।

यो मन्दिरको स्वरूप विभिन्न समयक्रममा फेरिएको इतिहास पाइन्छ।

विक्रम सम्बत् १८९० को भुइँचालोपछि रानीपोखरी मन्दिर पहिलोपटक पुनर्निर्माण भएको थियो। त्यति बेला ग्रन्थकुट शैलीमै बन्यो।

१९५१ मा आएर जंगबहादुर राणाले युरोपेली प्रभावमा यसलाई 'गुम्बज' शैली दिए। नब्बे सालको भुइँचालोपछि जुद्धशमशेरले गुम्बज शैलीमै पुनर्निर्माण गराए। यसको अर्को ठूलो पुनर्निर्माण २०१३ सालमा भएको थियो भने राजा वीरेन्द्रको राज्याभिषेक बेला पनि थप काम भएका थिए। यी पछिल्ला पुनर्निर्माणमा जंगबहादुरले भित्र्याएको गुम्बज शैली परिवर्तन गरिएन।

'जंगबहादुरको पालामा मासिएको रानीपोखरीको मल्लकालीन स्वरूप हामीले पुनर्स्थापित गरेका छौं,' पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भने।

उनी यसको श्रेय पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्की, सम्पदाविद् सुदर्शनराज तिवारी लगायतको विज्ञ टोलीलाई दिन्छन्। त्यति बेला कार्कीको संयोजकत्वमा गठित रानीपोखरी जीर्णोद्धार अध्ययन समितिले मल्लकालीन ग्रन्थकुट शैलीमा मन्दिर पुनर्निर्माण गर्न सिफारिस गरेको थियो।

सरकारबाट रानीपोखरीको जिम्मा पाएपछि प्राधिकरणले कार्की, तिवारीसहितको अर्को विज्ञ टोली गठन गर्‍यो, जसले मन्दिरको विस्तृत डिजाइन तयार पारेको ज्ञवाली बताउँछन्।

प्रकाशित मिति: : 2020-09-22 15:37:39

प्रतिकृया दिनुहोस्