कांग्रेसले सरकारलाई भन्याे– अनशनरत डा केसीको जीवन रक्षा गर्देऊ

नेपाली कांग्रेसले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार विज्ञप्ति निकालेर डा केसीले उठाएका मागलाई गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौता पालना गर्दै जीवन रक्षाको माग गरेका हुन्।

‘डा गोविन्द केसीले उठान गर्नु भएको विषयलाई गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौताहरु पालना गरी उहाँको जीवन रक्षाको लागि सरकार समक्ष कांग्रेस संसदीय दल जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

डा केसी जुम्लाको बाबिरा मष्टोको थानमा १९ औँ सत्याग्रह बसिरहेका छन्। अनशनरत सुरु गरेको सातौं दिन पुगेर स्वास्थ्य अवस्था बिग्रिसकेपछि उनलाई शनिबार प्रहरीले राति १०ः४५ बजे जबर्जस्ती उठाएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसियूमा राखेको थियो।  

उनको प्रेसर, मुटुको गति, शरीरको तापक्रम, अक्सिजनको मात्रा, पिसाबको मात्रालगायत कुनै पनि जाँच गर्न नसकिएको ‘मनिटरिङ’मा खटिएका डा प्रविण कुमार गिरीले बताएका छन्। 

‘अनशनका कारण उहाँको दिनप्रति दिन स्वास्थ्य स्थिति नाजुक भइरहँदा पनि सरकारले उहाँको मागलाई वेवस्ता गर्नु अत्यन्त दुःखद विषय हो,’ उनले भनेका छन्, ‘सबै नेपाली नागरिकको स्वास्थ्यमा सरल र सहज रुपले पहुँच होस् र विपन्न परिवारका छोराछोरीले पनि सहज र सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गरोस् भन्ने उद्देश्यका साथ जनहितका लागि गर्नु भएको सत्याग्रह प्रति ऐक्यबद्धता जनाउँदै तत्कालीन कांग्रेस नेतृत्वको सरकारले ल्याएको स्वास्थ्य सम्बन्धित अध्यादेशलाई समेत कार्यान्वयन गर्नका साथै साथै अनसनरत डा केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’

२९ भदौदेखि अनशनरत डा केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदश तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पतालको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन्।

प्रकाशित मिति: : 2020-09-20 18:00:12

प्रतिकृया दिनुहोस्