ती कामदार, यी मालिक

बिएल मिडियाले सुरू गरेको भूई मान्छे   शृंखलामा हामीले यसअघि तीन वटा आलेखहरू प्रकाशन गरिसकेका छौ। यदि छुटाउनु भएको छ भने यहाँ प्रस्तुत गरिएको छ। बाँकेको कोहलपुरबाट हाम्रा संवाददाता अछुत कोपिलाले तयार पारेको शृंखलाको चौथो भागमा आज हामी दैलेखका २७ वर्षिय तीर्थ सुनारको कथा प्रस्तुत गरेका छौ। -सम्पादक।

भूई मान्छे –४   जीवनमा हरेक मानिसको सपना हुन्छ। अधिकांश मानिस आफूलाई सफल, सबल र सक्षम बनाउन चाहन्छन्। तर हरेक मानिसको जीवन सोचे जस्तो हुन्न? सोचेका सपना पुरा पनि हुन्नन्। सबै कुरामा असफल पनि हुँदैनन्। तारादेवीले गाएको यस्तै भाव प्रकट गर्ने गीतै छ, ‘सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन,जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन!’

यो गीत ठ्याक्कै दैलेखका तीर्थ सुनारको जीवनमा समेत मेल खान्छ। दुल्लु नगरपालिका–१ का २७ वर्षीय उनी डाक्टर बन्न चाहान्थे। डाक्टर बनेर दुरदराजका रोगी, पीडित जनताको सेवा गर्ने ठूलो सपना थियो। उनले  सोचेको जस्तो भएन। सपना देखे जस्तो पनि भएन। कालान्तरमा सुनचाँदी पसलका मालिक बने।

यिनै तीर्थ कुनै बेला सूनचाँदीको झोला बोकेर दैलेखका गाउँ–गाउँ चहार्थे। आफ्नो र परिवारको पेट पाल्न नै लागि। ‘१२ वर्षपछि खोलो पनि फर्किन्छ’ भने झैँ उनै दिन फर्किएका छन्। कुनै बेला जिउनै लागि दुःख गर्ने उनी अहिले सुखी जीवन जिइरहेका छन्। सायद यही होला परिश्रम र संघर्षको फल। उनी भन्छन्, ‘जिन्दगीमा धेरै दुःख गरियो।  के सपना थियो, के भइयो। तर पनि खुसी छु अहिले।’ 

उनी गाउँमै जन्मिए र गाउँमै हुर्किएँ। गाउँ मै पाँच कक्षा सम्म पढेँ। पछि उनको परिवार गाउँबाट तल्लो डुंगेश्वर झर्‍यो। उनका बाबा सरू सुनार उसै सूनचाँदी व्यवसाय गर्थे। तिर्थले कक्षा ६ देखि ८ सम्म तल्लो डुंगेश्वर मै अध्ययन गरे। भाइ सुर्खेतमा पढिरहेका थिए। तिर्थ पनि कक्षा ९ र १० सुर्खेत मै पढेँ। उनले एलएलसी भने गाउँकै भानु उच्च माविबाट दिएर पास गरे। फस्ट डिभिजनमा।

छोरो डाक्टर बनोस् भन्ने बाबाको पनि सोच थियो, उनी तिर्थलाई आफूजस्तै दुःखी बनाउन चाहदैन थिए।

एसएलसीपछि डाक्टरको प्रवेश परीक्षा दिए। प्रवेश परीक्षामा उनी उतिर्ण समेत भएँ। ‘सोचे जस्तो सजिलो नहुँदो रहेछ, आर्थिक हिसाबले पनि पढाइमा निकै महंगो हुने रहेछ। त्यसैले धरौटी रकम तिर्न नसकेर मैले डाक्टर पढ्ने सपना छोडिदिएँ,’ बिएल नेपाली सेवासँग उनले भने। डाक्टर बन्ने सपना एक्कासी ब्रेक लागेपछि दुल्लु मै विज्ञान विषय पढे। विजय उच्च मावि दुल्लुमा प्लस टु सकियो।

आफ्नो पसलमा दैलेखका तीर्थ सुनार। तस्बिरः अछुत कोपिला


बुबाको कमाईले मुस्किलले घर चलेको थियो। रिजल्ट नआउञ्जेलसम्म एक निजी विद्यालय मास्टर बने। केही महिना पढाएपछि प्लस टु को रिजल्ट आयो। उनी पास भए। त्यसपछि  उच्च शिक्षा अध्ययन गर्न उनी पहिलो पटक सुर्खेत झरे। शिक्षा क्याम्पस सुर्खेतमा भर्ना भएँ। सुर्खेतमा कोठा भाडा, खाने, बस्ने र पढाई खर्च बुबाको मात्रै कमाईले धान्न सकेन। स्नातक तहको दोस्रो वर्षको वार्षिक परीक्षापछि उनको पढाई रोकियो। फेरि एकपटक आर्थिक अभावले तिर्थलाई गिजोल्यो। उच्च शिक्षा हासिल गर्न आएका उनी रित्तो हात घर फर्किए। केही समय बेरोजगार बसे। ‘केही समयपछि महादेव निम्न माध्यमिक विद्यालय तल्लो डुंगेश्वरमा जागिर पाइयो। मासिक १०/१२ हजार तलबमा दुई वर्ष जति जागिर गरेँ। पछि विवाह भयो। विवाहपछि उक्त तलबले घर धान्न धौ धौ पर्‍यो। ‘बुबाले धेरै दुःख पाउनु भयो। आफ्नो जस्तो दुःख छोराहरुलाई नहोस भन्ने उहाँको ठूलो सपना थियो। डाक्टर र शिक्षक बनोस बन्ने उहाँ पनि सपना थियो। जहाँ गएपछि लामो समय काही पनि टिक्न सकिएन । घरको आर्थिक अवस्थाले पनि साथ दिएन्,’ उनले भने। 

पछि उनी फेरि सुर्खेत झरे, व्यवसाय गर्न भनेर। उनका अनुसार त्यहीँबेला बुबाको निधन भयो। उनको साहारा खोसियो। घरको जेठो छोरा भएकोले पनि सबै जिम्मवारी उनको काँधमा थपियो। आर्थिक संकट चुलियो। पैंसा कमाउने अन्य कुनै सीप र विकल्प नभएपछि बुवाबाट सिकेको सुन बनाउने पेशा नै रोज्ने निर्णय गरेँ। अहिले उनी हिजो बुबाले गरेको दुःख संघर्ष सम्झेर भावुक हुन्छन्। सुनचाँदी व्यवसाय सुरु गर्न श्रीमतीले पनि ढाडस दिइन्। पहिलो पटक सुर्खेतको इत्राममा करिब ३ वर्ष पसल खोले। तिर्थले इत्राममा पसल गर्दा धेरै ग्राहकहरुको विश्वास जितिसकेका थिए।

बिस्तारै ग्राहकहरुको आर्कषण पनि बढ्दै गएको उनी बताउँछन् । साथै उनको कमाई पनि विस्तारै बढ्दैँ गएपछि विगत ८/९ वर्षदेखि निरन्तर न्यु दैलेखी पन्चकोशी काल भैरव आभुषण कला केन्द्र सुर्खेतको ऐरीचोक नजिक गरेका छन्। अहिले उनको पसल पनि राम्रै चलेको छ।

गाउँ–गाउँमा सुनचाँदीका गहना बनाउन जाने तिर्थ हाल पसलका मालिक बनेका छन्। उनले आफ्नो पसलमा करिब १० जना बढी युवाहरुलाई रोजगारी दिएका छन्। उनी भन्छन्, ‘मेरो बाबाले त्यो बेला अर्कोको घरको काम गर्दागर्दै कहिल्यै राम्रोसँग खान र बस्न पाउनु भएन। ठूलो परिवार। बिहान ६ बजे काममा निस्किएको मेरो बाबा राति १० बजे मात्रै आउनुहुन्थ्यो।’

तिर्थ अहिले असहारा, दुःखी विपन्न, गरिबलाई सहयोग गर्दै समाज सेवामा रमाउन थालेका छन्। भने कतिपय ठाउँमा यस्तो उदाहरणीय काम समेत गरिसकेका छन्। विगतमा अरूसँग रोजगारी माग्ने उनी अहिले अरूलाई रोजगारी दिएर समाजसेवामा समेत सक्रिय भएका छन्। संघर्षले उनलाई नाम र दाम दुवै दिएको छ।

यो पनि हेर्नुहोस्-

प्रकाशित मिति: : 2020-09-20 16:58:00

प्रतिकृया दिनुहोस्