‘ठूलो नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पेरिसडाँडा पुगेपछि बालिका खड्का पक्राउ

बैठक स्थलमै गएर नेताहरुलाई झापड हान्न खोज्ने बालिका खड्का पक्राउ 

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो श्रीमान् भएको भन्दै अंश माग गर्दै मुद्दा दर्ता गर्ने दोलखाकी बालिका खड्का पक्राउ परेकी छन्। 

आइतबार बिहान नेकपाको बैठक स्थल पार्टी कार्यालय पेरिसडाँडामा नेताहरुलाई झपड हान्ने भन्दै प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको हो। 

बैठक स्थलमा ‘ठूलो नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै जवर्जस्ती पस्न खोजेपछि खड्कालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सुमेन्द्र राठौरले जानकारी दिए। 

‘हामीले उहाँलाई नियन्त्रणमा लिएका छौं। उहाँ किन र केका लागि जवर्जस्ती जान लाग्नु भएको हो, हामी बुझ्दैछौं,’ प्रवक्ता राठौरले भने।

खड्काले सञ्चार माध्यममा पनि राईले २०७३ सालमा मन्त्री हुँदा र त्यसअघि पनि शारीरिक शोषणा गरेको आरोप लगाएकी थिइन्।

तर, प्रमाण पुर्‍याउन नसकेको भन्दै उनले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा बिहीबार फिर्ता लिएकी थिइन्।

‘अरु व्यक्तिको उक्साहटमा मुद्दा दायर गरेको र फिरादपत्रमा गरिएको दाबी पुष्टि गर्ने मसँग ठोस प्रमाण नभएकोले मुद्धा फिर्ता लिएकी छु,’ उनले दिएको निवेदनमा भनिएको छ।

खड्काले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दाको म्याद मुख्यमन्त्री राईले नबुझ्दै फिर्ताका लागि निवेदन दिएकी हुन्। उक्त मुद्दाको पेशी आउँदो कात्तिक १८ गतेका लागि तोकिएको थियो।

उक्त निवेदनमाथि सुनुवाई गर्दै बिहीबार नै जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले मुलुकी देवानी कार्यविधी संहिता,२०७४ को दफा १९६९२० अनुसार मुद्दा फिर्ताका लागि अनुमति दिएका थिए।

प्रकाशित मिति: : 2020-09-20 13:13:59

प्रतिकृया दिनुहोस्