असोज १ गतेदेखि पर्यटन क्षेत्र खुलाउने सरकारको निर्णय

तस्बिरः सौजन्य उर्जा तामाङ

आउँदो बिहीबार असोज १ गतेदेखि पर्यटन क्षेत्र पनि खुला हुने भएको छ। कोरोना महामारीका कारण गरिएको लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण लामो समयदेखि बन्द रहेको पर्यटन क्षेत्र बिहीबारबाट खुला हुने भएको हो।

असोज १ गतेदेखि मापदण्डसहित पर्यटन क्षेत्र खुला गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

मन्त्री ज्ञवालीका अनुसार आन्तरिक हवाई उडान र लामो दूरीका सवारीसाधन सँगै ट्रेकिङ तथा ट्राभल व्यवसाय, होटल, रेस्टुरेन्ट सञ्चालन गर्न सकिने भएको हो।

यो सँगै अक्टोबर १७ देखि विदेशी पर्यटकलाई ट्रेकिङ र पर्वतारोहणको लागि हिमाल जान अनुमतिसमेत दिइएको छ ।

विदेशी पर्यटकका लागि नेपाल एक साहसिक पर्यटनको लोकप्रिय गन्तव्य हो।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘भिजीट नेपाल २०२०’ भब्य रूपमा मनाउने घोषणा गरेको थियो। तर डिसेम्बरको अन्त्यमा चीनबाट विश्वभर फैलिएको कोरोना महामारीले कार्यक्रम प्रभावित भयो।

नेपाल सरकारले यसको सम्भावित जोखिम रोक्न भन्दै चैत ११ गतेदेखि मुलुक लकडाउन गर्‍यो। यो सँगै पर्यटन क्षेत्र नराम्ररी प्रभावित भयो। गत वर्ष सन् २०१९ मा नेपालमा झण्डै १२ लाख पर्यटक घुम्न आएका थिए ।

विदेशी पर्यटकको लागि केहि आवश्यक मापदण्ड बनाएर सरकारले ठप्प पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेको हो।

नेपाल घुम्न आउने पर्यटकले विमानस्थलमा ७२ घन्टा भित्रमा पीसीआर परीक्षण गरि नेगेटिभ आएको प्रमाण पत्र पेश गर्नुपर्ने, नेपाल सरकारले तोकेको अस्पताल र ल्याबबाट अर्को कोरोना परीक्षण गर्नुपर्ने, काठमाडौं आउनासाथ १४ दिन  होटलमा क्वारेन्टाइनमा बस्नुपर्ने, काठमाडौं बाहिर ७ दिन बस्नुपर्ने  र कोविड - १९ ट्राभल बीमा अनिवार्य हुनेपर्ने शर्त राखेको छ।

त्यो सँगै पर्यटकको एयरपोर्टदेखि पिक अप र ड्रपसम्म ट्राभल एजेन्सीले पर्यटकको सबै जिम्मेवारी लिनुपर्नेछ।

सरकारको पछिल्लो निर्णयबाट पर्यटन व्यवसायी उत्साहित भए पनि अधिकांशले झण्झटिलो प्रक्रिया मान्दै तत्काल विदेशी पर्यटक नेपाल आउनेमा आशंका रहेको बताएका छन्।

पर्यटन क्षेत्रले एक खर्ब गुमाइसक्यो

कोडिभ १९ का कारण नेपालको पर्यटन क्षेत्रले एक खर्ब रुपैयाँ गुमाएको अनुमान गरिएको छ । नेपालको पर्यटन क्षेत्रमा एयरलाइन्ससमेत १५ खर्बबराबरको लगानी रहेको अनुमान छ । पर्यटन क्षेत्रले मात्रै मासिक १० अर्ब गुमाएको अनुमान रहेको पर्यटनमन्त्री योगेश भट्टराईले बताए। ‘पर्यटन क्षेत्रले मासिक १० अर्ब गुमाएको छ। अहिलेसम्म ६० अर्ब रुपैयाँ यो क्षेत्रले गुमाइसकेको छ भने सबै जोड्दा समग्र पर्यटन क्षेत्रले एक खर्ब गुमाएको अनुमान छ,” उनले भने। 

मन्त्री भटट्टराईले विदेशी पर्यटकलाई खुला गरे पनि तत्काल आउने सम्भावना कम रहेकाले आन्तरिक पर्यटन प्रवर्द्धनलाई जोड दिइएको बताए। उनले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न दुई दिन साप्ताहिक बिदा दिने योजना बनाइरहेको बताए। ‘आन्तरिक पर्यटन प्रवर्द्धन गर्न साप्ताहिक दुई दिन बिदाको अवधारणा अगाडि सारिएको छ। दुई दिन साप्ताहिक बिदा दिदा करिब ५० लाख आन्तरिक पर्यटक घुम्‍न निस्कने अपेक्षा गरेका छौं ।’

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि तत्कालै रु २० अर्ब बराबरको राहत प्याकेज जरुरी रहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले बताए। पर्यटन क्षेत्रको ठूलो लगानी र त्यससँग आश्रित हजारौको रोजगारी समेत संकटमा परेको भन्दै उकास्नका लागि सरकार, निजी क्षेत्रको साझा प्रयत्न आवश्यक रहेको उनको भनाइ छ। 

प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीका लागि एक वर्षसम्म ब्याजदर र किस्ता तिर्न नपर्ने र तीन वर्षसम्म किस्ता तिर्ने अवधि लम्ब्याउनुपर्नेमा जोड दिए। सरकारले एक मुष्ठ प्याकेज ल्याउनुपर्ने बताउँदै आगामी आर्थिक वर्षको बजेटबाट त्यससम्बन्धी विषयमा आवश्यक सम्बोधन हुने उनले विश्वास व्यक्त गरे।

बोर्डले लकडाउन खुले लगत्तै करीब एक हजार ८ सय कामदारलाई रोजगारी दिने तयारीमा लागेको उनको भनाइ छ।  एक संयुक्त राष्ट्रसङ्घीय निकायले १ हजार र बोर्ड आफैंले हिमाल सरसफाइ एवं नदी संरक्षणलगायतका काममा ८०० जनालाई रोजगारी दिने तयारी थालिएको रेग्मीले जानकारी दिए।

प्रमुख कार्यकारी अधिकृत रेग्मीले कोरोनाको प्रभाव कम गर्न आन्तरिक पर्यटनको अभिवृद्धिका लागि समेत योजना बनाउनुपर्ने धारणा राखे। उनले भने ‘आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले कर्मचारीलाई तलबी बिदा दिने कार्यक्रम ल्याउनुपर्छ, त्यसका अलावा नेपालबाट विदेश जाने पर्यटकलाई समेत अब आन्तरिक पर्यटनमा आकर्षित गर्नुपर्छ।”

कोरोनाका कारण पर्यटन क्षेत्रसँग जोडिएका झण्डै २० लाख मानिस प्रभावित भएको उनले तथ्यांक दिए। कूल पाँच लाख मानिस प्रत्यक्ष रुपमा पर्यटन क्षेत्रमा जोडिएका थिए भने अप्रत्यक्ष रुपमा १५ लाख बढी मानिस जोडिएको तथ्याङ्क पेश गर्दै उहाँले अर्थतन्त्रमा ठूलो योगदान गर्ने क्षेत्रमा परेको प्रभाव कम गर्न सबैको सार्थक प्रयत्न हुनुपर्नेमा जोड दिए।

होटल एसोशिएसन अफ नेपाल हानका अध्यक्ष सिर्जना राणाले कोरोनाका कारण होटल क्षेत्रमा समेत ठूलो प्रभाव परेको जानकारी दिँदै बैंक तथा वित्तीय संस्थाले ब्याजमा  सहुलियत दिनुपर्ने बताइन्। विपद्का कारण ठूलो सङ्ख्यामा रोजगारीको कटौती भएको र त्यसले समग्र अर्थतन्त्रमा समेत प्रभाव पारेकाले स्पष्ट राहत प्याकेजको जरुरी रहेको उनको भनाइ छ। 

टानका अध्यक्ष खुम सुवेदीले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव कम गर्न स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्नुपर्ने धारणा राखे।

प्रकाशित मिति: : 2020-09-16 00:14:57

प्रतिकृया दिनुहोस्