लद्दाखमा चीनकाे थुप्रै पहाड भारतले कब्जा गरेको दाबी

भारतीय सेनाले सीमा क्षेत्र लद्दाखअन्तर्गत चीनतर्फ पर्ने पेङ्गोङ ताल वरिपरिका थुप्रै पहाड कब्जा गरेको दाबी गरेको छ।

पहिले चीनका सेनाको बाक्लो उपस्थिति रहेको पेङ्गोङ तालकाे उत्तरी क्षेत्रस्थित फिंगर ४ देखि फिंगर ८ सँगै कैयौं पहाडी क्षेत्र अहिले भारतका सेनाले कब्जा गरेको दैनिक भास्करले जनाएकाे छ।

केही दिन अगाडी यस क्षेत्रमा ४५ वर्षपछि गाेली चलेकाे थियाे। त्यसपछि दुई देशबीच बढ्दो तनावका कारण सीमा क्षेत्रमा सेनाको उपस्थिति बाक्लो छ।  

दक्षिणी क्षेत्रमा चीनका सैनिक पराजित भएको र उत्तरी क्षेत्रमा आफ्नो सैनिक संख्या बढाइरहेको भारतका सेनाले दाबी गरेको हाे।

भारतले जहाँ चिनियाँ सेनाले धोका दिएर ‘फायरिङ’ सुरु गरेको आरोप लगाएको छ, चीन सरकारले भने भारतीय सेना जबरजस्ती आफ्नो सीमा क्षेत्रमा प्रवेश गर्न खोजेको आरोप लगाएको छ। 

भारत–चीनबीच २० अक्टुबर सन् १९७५ मा अरुणाचल प्रदेशको तुलुङ ला क्षेत्रमा ‘फायरिङ’ भएयता सीमा रेखामा अहिलेसम्म ‘फायरिङ’ भएको थिएन। त्यतिबेला एम्बुसमा परेर असम राइफलका ४ जवानको निधन भएको थियो। 

गत जुनमा गलवान क्षेत्रमा भएको झड्पमा भारतका २० जवानको मृत्यु भएको थियो। तर, यतिबेला ‘फायरिङ’ को सट्टा रड प्रयोग भएको थियो। 
गत सोमबार भएको ‘फायरिङ’ को घटना कहाँबाट सुरु भयो, यसको पुष्टी अझैं भएको छैन। तर, भारतीय सेनाले आफ्नो चेक पोस्ट नजिकै चिनियाँ सेना आइपुगेपछि यो घटना भएको बताएको छ।  

यसअघि अगस्ट २९–३० राति चीनका सेनाले  पेङ्गोङ तालको दक्षिणतर्फ पहाड कब्जा गर्न खोजेको थियो। त्यसबेला दुई देशका सैनिक आमनेसामने भएका थिए।

यही सेप्टेम्बर १ मा पनि चीनका सेना घुसपैठ गर्न खोजेको आरोप भारतका सेनाले आराेप लगाएकाे छ। अहिले उक्त क्षेत्रमा दुवै देशका सेना ‘हाई अलर्ट’मा रहेको बताइएको छ।

प्रकाशित मिति: : 2020-09-11 07:10:36

प्रतिकृया दिनुहोस्