म कीर्तिपुर अस्पतालको शैय्यामा बसेको तीन महिना भएको थियो। उठेर हिँड्न पनि सक्दैनथेँ। मलाई आफ्नो अनुहार हेर्न धेरै नै इच्छा भयो। एक दिन मैले बाबालाई भने, ‘बाबा, म आफैँ बाथरूम जान्छु।’
उहाँले एक्लै जान दिनु भएन। उहाँलाई मैले त्यहाँको ऐनामा अनुहार हेर्छु कि भन्ने शंका रहेछ। मैले धेरै कर र जिद्दी गरेपछि बाबाले हुन्छ भन्नुभयो।
जाडो महिना थियो। म जानुभन्दा अगाडि नै बाबाले तातोपानी खोलेर बाफले अनुहार नदेखिने गरी ऐना छोप्नु भएको थियो। मैलै त्यो बाफ पुछेँ र ऐना हेरेँ।
मैले मेरो पहिलाको अनुहार सम्झेकी थिएँ। पोलेर घाउ नै घाउ भएको अहिलेको अनुहार देखेँ र एकदमै चिच्चाएँछु। के भयो भनेर बाबा–ममी दौडेर आउनुभयो। उहाँहरुले धेरै नै उत्प्रेरित गर्नुभयो। हौसला दिनुभयो। बाबा ममीले सम्झाउनुभो, ‘तिमीले हार्ने होइन छोरी! अब झनै बलियो भएर जित्नुपर्छ। सम्झ– तिमी यस्तै नै जन्मेकी थियौ।’
यो मेरो पहिलो भोगाइ थियो– एसिड हमलापछि परिवर्तन भएको आफ्नो अनुहारबारेको। ममाथि एसिड आक्रमण भएको एक वर्ष बितेको छ । त्यस बेलाको पीडा सम्झदा अहिले पनि मलाई एकदमै डर लाग्छ।
त्यो पीडा यति धेरै भयावह थियो कि म अहिले पनि शब्दमा व्यक्त गर्न सक्दिनँ। मेरो अनुहारको दायाँ भाग, घाँटी, छाती पोलेर घाउ भएको छ। दायाँ कान पनि जलेको छ।
गत वर्ष भदौ २० गते। बिहान ६ बजे म बढ्न विद्यालय गइरहेकी थिएँ। दुई जना अपराधीले जबरजस्ती बाटोमा रोके। जगमा एसिड बोकेका रहेछन्। ‘पानी हो, खाऊ’ भनेर मलाई खुवाउन खोज्दै थिए। मैले मानिनँ। त्यसपछि अनुहारमा खन्याएर भागे।
एसिडले पोलेपछि त्यसले मलाई यस्तो पीडा भयो कि उम्लिरहेको पानी शरीरमा खन्याएजस्तै भयो। पोल्न थाल्यो। म एकदमै चिच्चाएँ। त्यहीँ बेहोस भएर ढलेँ।
मलाई उद्दार गरेर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगियो। केही बेरपछि बाबाममीलाई देखेँ। मैलै बाबाममीलाई भनेँ, ‘हेर्नुस् न बाबा ! मेरो अनुहारमा के छ्यापेर भाग्यो। मलाई धेरै नै पोलिरहेको छ।’ मेरो शरीर यसरी जलेको थियो कि मैले हातको दाग हटाउन खोज्दा मासु नै खसेको थियो।
हाम्रो घरको आर्थिक अवस्था कमजोर थियो। एसिडले शरीर पोलिरहेको थियो। मैले आमाबुबालाई सोधेँ, ‘मेरो उपचार कहाँबाट गराउनुहुन्छ?’
आमाबुवाले भन्नुभो, ‘तिमी चिन्तित नहोऊ, हामी जहाँबाट पनि उपचार गराउछौँ।’
मैले थाहा पाएँ– सांसद् प्रदीप यादवज्यूले उपचारका लागि काठमाडौँको कीर्तिपुर अस्पताल ल्याउन भन्नुभो। त्यसपछि म ‘एयरकन्डिसन’ भएको एम्बुलेन्समा कीर्तिपुर अस्पताल ल्याइएँ।
अस्पताल आइपुग्दा होसमै थिएँ। अस्पताल पुगेपछि थाहा पाएँ– मलाई छ्यापिएको एसिड रहेछ।
अस्पतालमा चार महिना बसेँ। त्यसपछि डेरामा आएँ। अनि पाँच महिना घरबाट बाहिर पनि ननिस्की बिताएँ। कारण, घाममा निस्कन नहुने रहेछ।
अहिले पनि हप्तामा दुई पटक अस्पताल जान्छु– फिजियो थेरापीका लागि। दैनिक पाँच पटक थेरापी गर्नुपर्छ। हप्ताको दुई पटक चाहिँ अस्पतालमै गएर थेरापी गर्नुपर्छ। पोलेको छाला एकदमै पातलो हुन्छ। थेरापी गरिएन भने घाँटीलाई माथि उठाउन नसकिने हुन्छ। छाला खुम्चिन्छ।
प्रत्येक तीन महिनामा बेहोस गरेर अप्रेशन हुन्छ। यस्तो सर्जरी १०–१२ वर्षसम्म गरिरहनुपर्छ। सर्जरीमा तिघ्राको छाला निकालेर अनुहारमा सार्ने हो। त्यो गर्दा निकै दुख्छ। एक ठाउँमा त एसिडको दुखाइ छँदैछ। अर्को ठाउँको छाला निकाल्दा त्यो ठाउँमा पनि दुख्छ।
पहिलो पटकको उपचार त मलाई सबैको सहयोगले भयो तर अब यसपछिको उपचार कसरी गराउने भन्ने चिन्ता छ।
प्रधानमन्त्रीज्यूलाई पनि भेटेर मैले आफ्नो पीडा सुनाएँ । उहाँ एकछिन निकै भावुक हुनुभो। आफूले महसुस गर्ने प्रयत्न गर्नुभयो। उहाँलाई मैले भनेँ, ‘यो मेरो मात्र समस्या हैन। यो समस्या सबै पीडितले भोग्नुपरेको छ। मेरो घाउ हेरेर हैन, अपराधीको सोच हेरेर सजाय दिनुस्।’
मैले प्रधानमन्त्रीज्यूलाई भनेँ, ‘अपराधीले हाम्रो सुन्दरता खोसे भन्दैमा हामी लुकेर बस्दैनौँ । हाम्रो गल्ती के छ र हामी समाजको अगाडि लुकेर बस्ने? अपराधीले चै कोठामा बसेर लुक्नुपरोस् किनकि उसले यति ठूलो अपराध गरेको छ।’
‘म आफ्नो दाग हेर्दिनँ, आफ्नो लक्ष्य हेरिरहेकी छु। सुन्दरता मनबाट हुनुपर्छ बाहिरबाट हेरेर हुँदैन’ भनेर आफ्नो लगायत मजस्ता सबैको पीडा सुनाएँ । प्रधानमन्त्रीज्यूले सबै कुरा सुन्नुभयो। अनि भन्नुभएको छ, ‘केही विचार गर्छु। राज्य तिम्रो पछाडि छ।’
मलाई अस्पतालको शैय्यामै हुँदा उहाँलाई भेटेर हाम्रो समस्या सुनाउने इच्छा थियो। त्यो पुरा भयो।
पर्यटनमन्त्री योगेश भट्टराईज्यूलेले पनि उहाँको जन्मदिनमा सम्झनुभयो। माया गर्नुभयो । खुशी लाग्यो।
यसबीचमा जाली प्रमाण बनाएर मलाई आक्रमण गर्ने अपराधी छुटे भन्ने सुनेकी छु। अत्यन्त दुखित् छु । मैले प्रधानमन्त्रीज्यूसँग् पनि भने, ‘यति ठूलो अपराध गरेर अहिले बाहिर खुलेआम घुमिरहेको छ । मलाई त गर्यो, अरुलाई नगरोस् । त्यसैले एकदमै कडा कानुन बनाउनुस् । बाहिर घुमिरहेको अपराधीलाई छिट्टै जेलभित्र हाल्नुस्।’
ममाथि आक्रमण भएको एक वर्ष पुगेको छ। मभन्दा पछि यस्ता एसिड हमलाका अरु पाँच वटा घटना भइसकेका छन्।
मलाई एसिड प्रहार गर्दा कडा कानुन भएको भए म पछि जो पाँच जना एसिड आक्रमणमा परे, उनीहरु जोगिनसक्थे। आजीवन कारावासको कडा कानुन भएको भए उनीहरुमाथि आक्रमण हुने थिएन ।
ममाथि एसिड आक्रमण भएपछि वीरगञ्जका मेरा शुभचिन्तकहरुले धेरै नै आवाज उटाउनुभयो। स्थानीय डीपीएस स्कुल, प्रदेश सरकार, महानगरपालिकादेखि केन्द्र सरकारबाट राहत पाएँ। मलाई देशैभरिका दाजुभाइ तथा दिदी–बहिनीहरुले मलाई हौसला प्रदान गर्नु भयो। त्यो प्रेरणाले म आज आजको अवस्थामा आइपुगेकी छु । म सबैप्रति कृतज्ञ छु।
म एक लक्ष्य लिएर हिँडेकी छु। मेरो डाक्टर बनेर समाज सेवा गर्ने लक्ष्य छ । त्यो पूरा गर्छु।
हामी एसिड आक्रमणमा परेकाहरुले पर्सि (भदौ २५ गते) प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामूहिक भेट्दै छौँ। हाम्रो माग छ– एसिड प्रहार गर्ने अपराधीलाई दण्डित गर्न कानुन कडा बनाउनुपर्यो। एसिड किनबेचमा कडाइ गर्नुपर्यो, मापदण्ड हुनुपर्यो। हामीजस्ता घाइते उपचार खर्च राज्यले बेहोरोस्। एसिड प्रहारबाट बनेका खत देखेर जागिरबाट बञ्चित गर्ने गरिएको छ, यस्तो नगरियोस्।
(गत वर्ष भदौ २० गते एसिड आक्रमणमा परेकी वीरगञ्जकी किशोरी मुस्कान खातुनसँग डिल्ली पाण्डेले गरेको कुराकानीमा आधारित ।)