वामदेवको एक निर्णय, तीनतिर निशाना: युवराज, ईश्वर र बादललाई झड्का

काठमाडौं । अन्ततः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्षसमेत रहेका नेता वामदेव गौतम संघीय संसदको सांसद हुने चाहना पूरा भएको छ । प्रनिनिधिसभाको गत निर्वाचनमा बर्दिया–१ बाट पराजित गौतमलाई राष्ट्रियसभामा लैजान सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सहमति भएसँगै संसद छिर्ने उनको इच्छा पनि पुरा हुने भएको हो ।

गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गर्ने रिक्त एक सिटमा लैजाने निर्णय सरकार र नेकपाले गरिसकेको छ । पार्टी विवाद समाधान कार्यदल प्रतिवेदन कार्यान्यन र गौतमको संसद यात्रा तय भएसँगै सत्तारुढ नेकपाको आन्तरिक सत्ता समीकरण नयाँ ढंगले मोडिने परिदृश्यहरु देखिन थालेका छन् । यसक्रममा सरकारका मन्त्रीहरुको फेरबदलदेखि पार्टीका सांगठनिक कामले तीव्रता पाउनेमात्रै नभएर सिंगो नेपाली राजनीति नै एकपटक तरङ्गित नहोला भन्न सकिन्न । यसै सिलसिलामा सरकारमा रहेका केही अनुहार बाहिरिने र नेकपाका अन्य केही नेताले सरकारमा जाने मौका पाउनेछन् । किनभने नेकपा सचिवालय बैठकले पार्टी र सरकारका काम थप प्रभावकारी बनाउने निर्णय गरिसकेको छ ।

यस्तो अवस्थामा हुने मन्त्रिपरिषद फेरबदलका क्रममा यसअघि प्रधानमन्त्री केपी शर्माओलीकै नजिक र विश्वासपात्र बनेर काम गरेका केही मन्त्रीलाई झड्का लाग्ने निश्चित छ । यो झड्काले अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडादेखि रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेतलाई प्रभाव पार्ने संकेत देखिएको छ । 

प्रकाशित मिति: : 2020-09-04 21:50:37

प्रतिकृया दिनुहोस्