काठमाडौं
काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहीबार दिउसो १ बजे महोत्तरीका रामसागर बरही एउटा आँखा ब्यान्डेज गरिएकी छोरीको हात समातेर अस्पताल प्रवेश गर्छन् । उनी कोरोना जाँच कहाँ गराउने हो भनेर अस्पतालका कर्मचारीलाई सोध्छन् । तर, ‘आज त बन्द भइसक्यो’ भन्ने जवाफ सुनेर उनी अवाक हुन्छन् ।
आफ्नी माइली छोरी निशा कुमारी घरमा दाउरा भाँच्दै थिइन् । तर भाँच्दै गरेको दाउराले उनको एउटा आँखामा घोच्यो ।
आँखामा घाउ भएपछि उनी महोत्तरीबाट छोरीलाई सिरहाको लाहानस्थित आँखा अस्पताल लगे । तर सो अस्पतालले काठमाडौंमा रहेको तिलगंगा आँखा अस्पताललाई रिफर गरिदियो ।
एम्बुलेन्सलाई ११ हजार तिरेर उनी बुधबार काठमाडौँ आइपुगे । गौशालाको गेष्ट हाउसमा बसे । बिहान तिलगंगा आँखा अस्पतालमा जचाउन जाँदा आँखाको अप्रेशन गर्नुपर्छ, त्यसभन्दा पहिला कोरोना जाँचको पीसीआर रिपोर्ट लिएर आउन भनियो ।
उनलाई पीसीआर परिक्षण कहाँ गर्छ थाहा थिएन । कसैले बानेश्वरमा परीक्षण गर्छ भनिदिए । उनी सोध्दै खोज्दै पैदल बानेश्वर पुगे तर कहाँ गर्छ थाहा भएन । फेरि मान्छेहरुलाई सोधेर टेकुमा पीसीआर परिक्षण हुन्छ भन्ने थाहा पाए ।