‘भगवान्काे नाममा केही देऊ बालक।’
म डराएँ। त्यस्तै बाह्र–तेह्र वर्षको हुँदो हुँ। आठ कक्षामा पढ्थेँ। भर्खरै बजार बन्दै गरेको गाउँमा तरकारी खानलाई हजुरबाले जोडेको चार कठ्ठा जग्गामा एउटा गाई र बाच्छासँगै थोरै तरकारी लगाइएको थियो। विद्यालय छुट्टी भएकोले म र मेरो काका दिउँसो कुर्न बस्थ्यौं। र, त्यतिबेला काका हुनुहुन्थेन। बाहिर चउरमा खटियामा एक्लै ढुंगासँगै खेल्दै थिएँ म।
हेर्दै खाइलाग्दो, मेरो बाको उमेरको हुँदो हो। पहेँलो र रातो रंगको कपडामा अलिकति दाह्रीले गाला ढाकेको जोगी मेरै नजिक आएर मसँग केही माग्दै थियो। त्यतिबेला जोगी भनेपछि मलाई औधी डर लाग्थ्यो। अग्रजहरू भन्थे- जोगीले समातेर लैजान्छ र भारतमा लगेर बेच्छ रे।
म अकमकिएँ। के दिनु मैले। केही त थिएन त्यो सानो तरकारी बारीमा। बोडी, टमाटर, गाजर, फुलगोभी (ब्रोकाउली) या मूला केही पनि तयार थिएनन्। हुँदो हो त हामी काँचै धनियाँ र नुनको चटनीमा डोबेर खाँदा हौं।
‘बालक, केही त देऊ।’
स्वर डरलाग्दो र मोटो थियो। मानौं यदि मैले केही दिन सकिनँ भने मलाई श्राप दिनेछ। केही छैन भनौं भने रिसाउला भनेर मेरो बालक मनले जोगीलाई एकछिन भुलाउने निर्णय गर्यो।
‘नदियो भने के हुन्छ?’
मेरो अनुमानभन्दा फरक ऊ रिसाएन।
‘तिमीले दिनैपर्छ। नत्र अनिष्ट हुन्छ।’ मुसुक्क मुस्कुराउँदै यति मात्र भन्यो।
‘दियो भने के हुन्छ नि?’ मैले फाइदा खोजेँ।