मलमा पनि ठेकेदारले किसान रुवाए

जनार्दन बराल/अजित अधिकारी

सस्तोमा टेन्डर कबोल गरी मल ल्याउने ठेक्का पाएका दुई कम्पनीले नेपाली किसानलाई दुःख दिएका छन् । ५० हजार टन मल ल्याउने सम्झौता गरेका ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपलले खेतीको सिजनमा एक बोरा पनि मल ल्याएका छैनन् । दिनभर घाममा लाइन लाग्दा पनि किसानले मल पाएका छैनन् भने ठेकेदारको मल कहिले आउने हो ठेगान छैन । 

सरकारले ५० हजार टन युरिया ल्याउन कृषि सामग्री कम्पनीमार्फत गत पुस र माघमा टेन्डर आह्वान गरेको थियो । ‘२५ हजार टन युरियाका लागि २८ पुसमा र थप २५ हजार टनका लागि ४ माघमा टेन्डर भएको थियो,’ कृषि सामग्रीका प्रवक्ता विष्णु पोख्रेल भन्छन् । 

मलको टेन्डरमा सधैँ अन्तर्राष्ट्रिय कम्पनीहरू सहभागी हुने र तिनका नेपालस्थित एजेन्ट सक्रिय हुने गरेका थिए । तर, यसपटक दुई नेपाली कम्पनीले तुलनात्मक रूपमा न्यून मूल्यमा टेन्डर हात पारेका थिए । शैलुङ इन्टरप्राइजेजले पहिलोपटक रासायनिक मल आपूर्तिका लागि टेन्डर भरेको थियो र पहिलोपटक नै सफलता हात पारेको थियो । ‘अत्यन्तै सस्तोमा बोलकबोल गरेपछि उनीहरूलाई ठेक्का दिनुपर्ने बाध्यता थियो, तर ठेक्का पाएपछि काममा ढिलासुस्ती भयो,’ कृषि मन्त्रालयका एक अधिकारी भन्छन् । 

प्रकाशित मिति: : 2020-09-01 07:19:34

प्रतिकृया दिनुहोस्