काठमाडौं : लिपुलेकमा पछिल्लो समय भारतीय र चिनियाँ सैनिकको मुभमेन्ट बढेको छ। सन् १८१६ को सुगौली सन्धीअनुसार लिपुलेक नेपाली भूमि हो र चीनसँगको नेपाली सीमा पनि। तर, कब्जा जमाइरहेको भारत लिपुलेकलाई त्रिदेशीय सीमा भनिरहेको छ। यसै आधारमा भारतले नेपाली भूमिमा सैन्य उपस्थिति बढाइरहेको छ। प्रतिक्रियास्वरुप चीनले पनि सक्रियता बढाइरहेको समाचार आएका छन्। लद्दाखको झडपपछि दुई छिमेकीबीच तनावको स्थिति सिर्जना भएका बेला सैनिकको रणभूमिको मैदान बन्न नदिन लिपुलेकमा नेपाली सुरक्षाकर्मीको उपस्थिति हुनुपर्ने माग जनस्तर सरोकारवाला निकायबाट उठिरहेको छ।
तर, नेपाली सुरक्षाकर्मीको उपस्थिति भने तिंकर भञ्याङस्थित नेपाल-चीन एक नम्बर पिल्लर सम्ममात्रै छ। त्यहाँबाट लिपुलेक करीब ७ किलोमिटरको दुरीमा छ। आखिर त्यहाँ किन जाँदैन नेपाली सुरक्षाकर्मी?
काठमाडौं र देशका अन्य भूभागका मानिसले भनेजस्तो सजिलो छैन लिपुलेकमा नेपाली सुरक्षाकर्मीले गस्ती गर्न। त्यसो त नेपाली सुरक्षाकर्मी लिपुलेक जान डराएका होइनन्। सरकारले एकातिर उनीहरुलाई त्यहाँ जान निर्देशन दिएको छैन भने अर्कोतिर जानका लागि अवस्था पनि सहज छैन।
लिपुलेक जाने दुई मार्ग छन्, दक्षिणतर्फ कालापानी र उत्तरतर्फ तिंकर भञ्याङ। कालापानीको बाटो माथिल्लो कौवासम्म मात्रै मुस्किलले गस्ती गर्न दिएको छ भारतीय एसएसबीले। त्यसभन्दा अगाडि बढ्न दिँदैन। अर्को तिंकर भञ्याङको बाटो भौगलिक रुपमा अफ्ठ्यारो छ। बाह्रैमास हिउँ र लेक लाग्ने भएकाले यहाँबाट सजिलै गस्ती सम्भव छैन। भइहाले पनि दुवै मार्गमा भारतीय सुरक्षाकर्मी हतियार बोकेर बसेको अवस्था छ। सरकारी अधिकारीहरु हतियारसहित बसेको ठाउँमा हतियारधारी अर्धसैन्य बल पठाउँदा मुठभेड हुनसक्ने बताउँछन्।