कोरोना महामारीको बेला खाद्यान्न,फलफुल तथा तरकारीको मूल्यसूची नराखिकन कालाेबजारी गरेको आरोपमा वीरगञ्जका ३ फलफुल तथा तरकारी पसललाई स्थानिय प्रशासनले कारबाही गरेको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीले बुधबार वीरगञ्ज महानगरपालिकाको माइस्थान तथा मिनाबजारमा रहेका विभिन्न तरकारी तथा फलफुल पसलमा अनुगमन गरेकाे थियाे।
मूल्यसूची नराखेको तथा खरिद र बिक्री विल उपलब्ध गराउन नसकेका चन्द्रकिशोर ट्रेडर्स, शिव देवी ट्रेडर्स मिनाबजारलाई २०/२० हजार रुपैयाँ जरिवाना तथा माँ जगदम्बा फ्रुट सेन्टरलाई १० हजार जरिवाना गरिएकाे छ।
उनीहरुलाई आइन्दा तरकारी तथा फलफुलहरुको कालोबारी तथा मूल्य बृद्धि नगरी विक्रि वितरण गर्ने सर्तमा छाडिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीबास्तबले जानकारी दिए।
कुनै वस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धी गरी विक्री वितरण गरेको पाइएमा आवश्यक प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नसमेत आग्रह गरिएकाे छ।