नोबेल मेडिकल कलेज विराटनगरका ५५ नर्सद्वारा राजीनामा

विराटनगरको नोबेल शिक्षण अस्पतालको इमरजेन्सी विभागमा कार्यरत् प्यारामेडिक्ससहित ५५ नर्सले सामूहिक राजीनामा दिएका छन्।

व्यवस्थापनले आफ्नो सुरक्षाको भरपर्दो ग्यारेन्टी नगरेको गुनासो गर्दै आएका नर्सहरूले सामूहिक राजीनामा दिएका हुन्।

मंगलबार बुझाएको राजीनामा अस्पताल प्रशासनले स्वीकार गरेको छ।

उनीहरूले कोरोना संक्रमणको जोखिम उच्च हुँदै आएको भन्दै सरकारले जारी गरेको हेल्थ प्रोटोकलअनुसार मात्र काममा खटाउन माग राख्दै आएका थिए।

तर, अस्पतालले उक्त प्रोटोकल पालना नगरी काममा लगाएका कारण आफूहरूले राजीनामा दिन बाध्य भएको नर्सको भनाई छ।

 इमरजेन्सी विभागमा कार्यरत् धेरै नर्स अहिले कोरोना संक्रमित भएका छन्। उनीहरू विराटनगरमा कोठा भाडामा लिएर बसिरहेका छन्।

यस्तो बेला अस्पतालले सेल्फ आइसोलेसन बनाएर संक्रमित स्वास्थ्यकर्मीलाई राख्न सरकारले निर्देशन दिए पनि अस्पताल प्रशासनले त्यसो नगरेको उनीहरूको भनाइ छ।

सरकाले जोखिम भत्ता उपलब्ध गराउनु भने पनि नोबेल प्रशासनले त्यसको कुनै सुनुवाइ नगरेको उनीहरूको भनाई छ।

नर्सहरूले खाइपाइ आएको न्यूनतम् पारिश्रमिक समेत नदिएको गुनासो उनीहरूको गुनासो छ।

एक त नियमित तलब नै दिइएको छैन। झन् अहिले कोरानाको जोखिम ज्यान बाजी थापरेर काम गर्दा समेत जोखिम भत्ता नदिने। त्यसैले, काम छाड्ने बाध्यात्मक अवस्था आइलाग्यो।

माग सम्बोधन नभए काममा नफर्किने उनीहरूको तयारी छ। अन्यन्तै न्यून पारिश्रमिकमा काम गरिरहेका नर्सहरूले यसअघि श्रमशोषण गरेको गुनासो गर्दै आएका थिए। तर, बोले जागिर जाने त्रासले भित्रभित्रै पिल्सिएर स्वास्थ्यकर्मीले काम गरिरहेको उनीहरूको भनाइ छ।

राजीनामाका कारण सेवा अवरुद्ध भएपछि अरु विभागमा कार्यरतहरुलाई ल्याएर आकस्मिक सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दाहालले दिए । 

नर्सिङ स्टाफ र पारामेडिक्सले पारिश्रमिक वृद्धि नगरिएको, व्यक्तिगत सुरक्षामा अस्पतालले ध्यान नदिएको, पारिश्रमिक नियमित नभएको, प्रोत्साहन भत्ता नदिएको र आवश्यक सुरक्षा सामग्री बिनानै काममा लगाउने गरिएको भन्दै राजीनामा दिएका हुन् । 

अधिकृत दाहालले सबैको राजीनामा अस्पताल प्रशासनले स्वीकृत गरिसकेको बताउँदै त्यसबाट उत्पन्न समस्याको समाधान आन्तरिक रुपमै खोज्ने प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार अस्पतालमा छ सय ५० जना स्टाफ नर्स कार्यरत छन् । अरु विभागमा कार्यरतलाई परिचालन गरेर आकस्मिक सेवा सञ्चालनको प्रयास भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: : 2020-08-26 12:09:49

प्रतिकृया दिनुहोस्