पातरासी हिमालको काखमा उठेको हावाको लहर बालीगाड दहको आद्रतालाई उठाएर चौधबीसका फाँटफाँटमा पुग्छ। चौधबिसे जुम्लीका फोक्सोमा पुग्छ र स्वच्छ हावा दिलाउँछ। अनि पातरासीको छाहारीमा हुर्केका चौधबिसेहरु स्वस्थ, बलिया र हृष्टपुष्ट हुन्छन्।
त्यहिँ हावाको कमाल होला सायद छुमचौरको छुम जिउलोले संसारको सबैभन्दा अग्लो स्थानमा धान फलाउन सकेको। मार्सी धान मात्र होइन चौधबिसमा हुने हरेक बालीनाली उस्तै छन्। चौधबिसे आलु र मकैको पहिचान नै फरक छ।
परिकार र खानपिनको महिमा पनि कम्ताको कहाँ छ र? चौधबिसे ढिडो र सिस्नाको तीउनको बयान जति गरे पनि कमै हुन्छ। खवाई पनि कम्ती मजाको होइन। बिहान उठ्यो अघाउन्जेल जौँ, गौहुका रोटी नभए भोटे चिया र भुटेका मकै सातुले पेट टन्न भरेर काममा गयो। मध्यान्न १२ बजेसम्म काम गरेर घर फर्कियो। ढिडो, सिस्नो र मजिनाको फाँडो खायो। केही छिनको आराम पछि फेरि काममा गयो। पसिनाले जिउ गलाउनै आँटेको बेला पातरासीको काखबाट आइहाल्छ सितल वायु। जसले ‘चिसो भनेकै कोकाकोला’ खाएको भन्दा कयौं गुणा बढी फ्रेस बनाइदिन्छ।
यसरी हुर्किएको चौधबिस बलियो छ। जोडखापको छ। तर गाउँ भनि सहरको नजरका हेलिएको छ।
२०६८ सालमा गाउँको स्कुल सहरसँग प्रतिस्पर्धा गर्न आयो, विद्यालयस्तरीय प्रतियोगिता रनिङसिल्डको लागि। हेयको नजरमा परेको चौधबिसले ढिडो र सिस्नोको पावर देखायो। पाँच हजार मिटरको दौड प्रतियोगिताको प्रथम र दोस्रो उपाधि उसैको भयो। पहिलो हुने ऋणमोक्ष मा.वि डिल्लीचौर थियो भने दोस्रोमा प्रस्तावित गंगा मा.वि पेरे।
बजार पछि अर्को वर्ष सिंजा नराकोटले प्रतियोगिता आयोजना गर्यो। त्यसबेला फेरि चौधबीसे पावरले नै जित्यो। चौधबीसको पावर बनेकी थिइन्, गंगा मा.वि पेरेकी सुनमाया बुढा। त्यसपछिको रनिङसिल्डमा विशेष गरी ५ सय मिटर, १५ सय मिटर र पाँच हजार मिटरको प्रतियोगितामा चौधबीस अरूका लागि खतरा लाग्न थाल्यो।
त्यस बेलादेखि दौडिन सुरु गरेकी सुनमायालाई संसारमा असम्भव केही छैन भन्ने कुराको व्यवहारिक प्रयोग आफैं भएको भान हुन्छ। कसैले कुनै पनि कोणबाट ध्यान नदिएको क्षेत्रकी उनलाई विद्यालयस्तरीय प्रतिस्पर्धाको नतिजाले नयाँ जाँगर पैदा गरिदियो।
२०७२ सालमा एसएलसी पास गरेपछि आमाबासँग पढ्न जाने अनुमति पाएकी उनले पछ्यौराको फेरमा केही पैसा गाँठो पारेर सदरमुकाम पसेकी थिइन्। खस सभ्यताको ओरिजिन बोकेको चौधबिस दराको पातारासी गाउँपालिका पेरेबाट सदरमुकामा पस्दै गर्दा दौडमा केही गरेर देखाउने एक नयाँ उत्कन्ठा थियो। त्यसबेला लाग्थ्यो, ‘देशको नाउँ उँचो पारुँ, कर्णाली तथा जुम्लाको नाम विश्वमा फैलाऊ र चौधबिस क्षेत्रको नयाँ परिचय दिऊँ।’
गाउँ छोडेसँगै गाउँको जस्तो खानपान पनि उतै छुटेको थियो। परिणाम बजारमा न सोचे जस्तो खानपान मिल्यो न शरीरमा रहेको मासुको मात्रा बढ्न थाल्यो। केही समयको बसाई र बिना डाइटवाला ट्रेनिङले शरीर दुब्लाएर सिन्को जस्तो हुँदै गयो। केही गर्ने तिब्र महत्वाकांक्षा भइकन पनि डाइट नभएपछि शरीरले ट्रेनिङलाई पचाउन सकेन। परिणाम उनी झन् दुब्लाइन्।
सहर पस्दा कुर्ता र सुरूवाल लगाएर हर्ताकर्ता जीउलाई पछ्यौराले ढाकेकी उनको जीउले ट्रयाकसुट लगाएर मरन्च्यासे शरीर देखाउँदै गाउँ पसेपछि धेरैले बाआमाका अगाडि अनर्गल टिप्पणी गर्न सुरू गरिहाले, ‘बजार बस्ना लागेपछि तिम्मी छोरी बिग्री, लभ पारी। हेरधी (हेरत) जिउ कस्तो भाट्टियाको(निकै दुब्लो) छ?’
यसले बाआमालाई टाउको दुखाइको विषय बन्यो। ‘ना गतिल्लो छोट्या(केटो) खोज। भ्या(बिहे) गर। हाम्मो नाक नकाट। पढ्नु सढ्नु अठजाला(नपढ)।’
गाउँलेको कुरा कटाइले बाआमालाई पिर पर्न थालेपछि उनले मनमनै सोचिन्, ‘मैले लभ पारेर हो कि, ट्रेनिङ खप्न नसकेर हो, त्यो मलाई मात्र थाहा छ। बरू मलाई घरबाट सहयोग चाहिएको छैन तर पख तिमीहरुलाई मैले के गरिरहेकी छु देखाउनेछु।’
कर्णाली स्पोर्ट क्लबको माया र कीर्तिमानी धावक हरि रोकायाको उत्प्रेरणाले उनी राम्रो हुँदै गइन्। उनलाई विभिन्न प्रतियोगितामा सहभागी हुन जिल्ला बाहिर समेत पठाउन थालियो। नतिजा राम्रो हुँदै गयो।
लभ पारेर बिग्री भनेकी सुनमाया रेडियो र पत्रपत्रिकामा आउन थालिन्। उनीहरुको नकारात्मक टिप्पणी विस्तारै उनको फेवरमा आयो। उनको बयान गर्नेहरु बढे।
विद्यालयमा रहरै रहरले दौडिएकी उलेले दौडमा नयाँ सपना बुन्न थालिन्। त्यपपछि सुनमायाको जीवनमा दौड, दौड र फेरि पनि दौडको सूत्र अहोरात्र लागू भएको छ।
परिणाम विद्यालयस्तरीयदेखि अन्तर्राष्ट्रिय पुरस्कारहरु समसेत उनका हात लागेका छन्। पाँच वर्षदेखि विश्व भरिका विभिन्न दौडमा सहभागी भएकी सुनमायाले धरान म्याराथन, जुम्ला-रारा अल्ट्रा म्याराथन, व्रेथलेस रनिङ, एमएसआइजी, तेन्जिङ हिलारी, ओमन म्याराथान, गोल्डेन वर्ल्ड ट्रेल सिरिजमा सहभागी भइ पदक जितेकी छिन्।
अब पदक जित्नु उनका लागि लत बनेको छ। दौडमा नै करियर बनाएर नयाँ कीर्तिमानको सपनाले उनलाई दौडिन र निरन्तर ट्रेनिङमा लागिरहन जाँगर चलिरहेको छ। स्वास्थ्यले साथ दिएसम्म दौडेरै करियर बनाउन सकिने आत्मविश्वास जागृत भएको छ।
सुनमायालाई सुरूसुरुमा रहरै रहरले दौडिदा दौडसम्बन्धी कुनै ज्ञान थिएन। दौडसम्बन्धी पनि नियमहरु हुन्छन् होला भन्ने कल्पना पनि थिएन। जब ट्रेनिङ लिन थालिन्, हरि रोकायाबाट दौडको ज्ञान पनि लिन थालिन्। खेलको महत्त्व र यसले बनाउने भविष्यबारे पनि बुझ्दै गइन्।
हुन त त्यो भन्दा पहिला नौ कक्षामा पढ्ने बेला दुई महिना ट्रेनिङ लिएकी थिइन् तर ‘यो जैर्यो दौडिएर हुन्या क्या छ?’ सोचेर केही समय हराइन् पनि। जब समाचारका पानाहरुमा विश्वरुपा बुढा, मिरा राईहरु आउन थाले। सामान्य ज्ञानमा पढ्नुपर्ने भयो, तब सुनमायामा दौडको सपना पुनः जागृत भयो। नाम र परिचयको भोक जाग्यो भयो। प्रशिक्षणलाई थेग्न नसकी उनी फेरि प्रशिक्षणमा फर्किन्। त्यसबेला उनले प्रशिक्षण अनुसार आफूलाई सक्षम बनाउँदै लगिन्। यो क्रम विगत पाँच वर्ष यता निरन्तर चलिरहेको छ। ‘सुरूको ट्रेनिङले मनमा कालो बादल लागे जस्तो निराशा छाए पनि कठिन परिस्थितिसँग जुधेपछि मनमा आशाको दियो बलेको छ,’ उनले भनिन्, ‘केही गर्छु भन्ने मनमा हुटहुटी बढेको छ।’
सहरमा हुँदा बिहान साँझ दालभात, घरमा हुँदा ढिडो सिस्नो र ट्रेनिङमा हुँदा चना अण्डालाई डाइट मानेकी उनी जब विश्वस्तरीय प्रतिस्पर्धामा सहभागी हुन थालिन्, त्यसपछि लाग्यो नेपालको ट्रेनिङ, डाइट र व्यवस्थापन निकै कमजोर छ।
‘हामीलाई कस्तो खानाले शरीरमा शक्ति पैदा हुन्छ भन्ने पनि थाहा थिएन। राज्यको कमजोर व्यवस्थापनले खेलाडीहरु आशावादी होइन निराश भइरहेका छन्। राम्रा प्रतिभाहरु उतै अल्झिन्छन् भन्ने सुनेकी थिए त्यो पनि एउटा कारण हुन सक्छ,’ उनले विदेशका प्रतियोगितामा सहभागी हुँदाका अनुभूति सुनाइन्, ‘त्यहाँ राखिएका खानेकुराका धेरै आइटमहरू हुन्छन्। एक कुनाबाट थोरै थोरै राख्दै गए पनि आफूले खान सकिने भन्दा धेरै हुन्छ। हामी चना अण्डा खाएर उनीहरुसँग प्रतिस्पर्धा गर्न जान्छौं।’
तथापी राज्यको कमजोर व्यवस्थापनलाई पनि सकारात्मक ऊर्जामा फेर्दै निरन्तर दौडमा रहने उनले बताइन्। उनी देश चिनाउन भनी स्वीजरल्याण्ड, हङकङ, चीन, फ्रान्स, इटाली, ओमान, मलेसिया र अष्ट्रियालगायतका देशमा हुने प्रतियोगितामा सहभागी भइसकेकी छिन्।
उनको अंग्रेजी भाषा कमजोर छ। त्यसेले गर्दा विदेशमा रहँदा उनलाई कयौं पटक समस्या पनि परेको छ। मलेसिया र स्वीजरल्याण्मा गएको बेला निकै गाह्रो भएको उनले सुनाइन्। ‘मलेसिया हुँदा फ्लाइट टाइमबारे नबुझेर खुब रोएँ। एयरपोर्टमा कोसँग कुरा गर्ने? उनीहरुले बोलेको भाषा नबुझिने। आफूले बोलेको उनले नबुझ्ने,’ उनले आफ्ना अवस्था र भोग्नु परेको व्यवस्था सुनाइन्, ‘स्वीजरल्याण्डबाट नेपाल फर्किने क्रममा वासिङ मेसिनमा भिजेको पासपोर्टमा फोटो नचिनिने र अक्षर मात्र बुझिने खालको थियो। अंग्रेजी भाषा नजानेकै हुनाले ट्रान्जिटमा खुब केरकार भयो। त्यसैले पनि अब अंग्रेजी जान्नैपर्ने चुनौती थपियो। यता आएपछि सिके। तर पनि उति जान्ने भइसकेकी छैन।’
सन् २०१९ मा अल्ट्राको विश्वस्तरीय प्रतियोगिता गोल्डेन वर्ल्ड ट्रेल सिरिजमा विश्वव्यापी चौथो भइन् भने नेपालबाट प्रथम। कर्णाली स्पोर्टस् क्लवका अध्यक्ष सरोज शाहीको विश्लेषणमा ‘सुनमायाको उपलब्धीलाई राज्यले बुझ्न सकेको छैन। त्यसैले उनी राज्यको लागि गौरव बन्न सकेकी छैनन्। उनी जुम्लाले उत्पादन गरेकी विश्वस्तरीय अल्ट्रा धावक हुन्।’
उनले दौडेर जितेका उपलब्धीहरु नेपालले सम्झिन लायक छन्। नेपालमा राज्यले लगानी गरेका क्षेत्र भन्दा बाहिरबाट अन्तर्राष्ट्रिय उपलब्धीहरु हासिल हुनु राज्यकै लागि ठूलो चुनौती हो। तर नजिकको तीर्थ हेला भनेझैं उनी हालसम्म राज्यको नजरमा परेकी छैनन्। पर्यटन, खेल प्रवर्द्धनका नाममा अनावश्यक खर्च गरिरहेका गाउँपालिका, नगरपालिका र प्रदेश सरकारका लागि सुनमायाहरु एउटा फरक उदाहरण हुन्।
विदेशमा रहेका नेपाली, केही दाता र विभिन्न क्षेत्रको स्पोन्सरमा संसारभरि दौडेर जितिरहेकी कर्णालीकी छोरीहरुका लागि स्थानीय सरकारले स्पोन्सर नै गरिरहेका छैनन्। पातारासी गाउँपालिकाका लागि सुनमाया एक दुर्लभ हिरा भएको लेखक तथा अनुसन्धानदाता राजबहादुर कुँवर बताउँछन्। गाउँपालिका, प्रदेश र संघीय सरकारले नचिने पनि विश्वले अल्ट्रा धावनमा सुनमायालाई चिनेकोमा खुसी प्रकट गर्छन्, प्रशिक्षक हरि रोकाया।
कर्णाली प्रदेशले पर्यटन प्रवर्द्धन गर्नका लागि सुनमाया जस्ता अन्तर्राष्ट्रिय धाविकाहरुलाई ब्रान्ड एम्वेसडर बनाउँदा फाइदा हुने लेखक रामसिंह रावलको मत छ।
०००
सुनमाया राष्ट्रिय स्तरको प्रतियोगिताका लागि पनि निकै उत्सुक छिन् तर एउटा राष्ट्रिय प्रतियोगिताका लागि पाँच वर्ष कुर्नुपर्ने स्थिति छ। वर्षौंसम्म राष्ट्रिय प्रतियोगिता कुरेर बस्न नसकिने हुनाले अल्ट्रामा ध्यान दिनुपरेको बाध्यता सुनाइन्। तथापि यसैमा उनले भविष्यको सपना साँचेकी छिन्।
हाल उनका पाइला पछ्याउँदै उनकी बहिनी राममाया पनि दौडिरहेकी छिन्। पहिलो पटकको जुम्ला रारा अल्ट्रा म्याराथनमा सुनमाया प्रथम भएकी थिइन् भने दोस्रो जुम्ला रारा अल्ट्रा म्याराथनमा उनकी बहिनी राममाया प्रथम भइन्। ४९ किलोमिटरको एउटै प्रतियोगितामा दिदीबहिनीले जितेको सायद यो वर्ल्ड रेकर्ड नै होला।
हरि रोकायाको अभिभाककीय भूमिका, मिरा राईसँगको आत्मीय मित्रता र साथ, सहयोग, धुव्रविक्रम मल्लको प्रेरणा तथा कर्णाली स्पोर्टस क्लवको शितल छहारीमा सुनमायाले दौडकै दौरानमा पाएका जीवनका सुन्दर उपहारहरु हुन्।
जसरी हिमचितुवा हरि रोकायाले अल्ट्रा दौडमा विश्व रेकर्ड राखे। मिरा राईले अल्ट्रामा विश्वभरि आफ्नो कीर्तिमानी परिचय बनाइन्, ठीक त्यसरी नै दौडमा नयाँ कीर्तिमान राख्ने चाहनाले हरेक दिन उर्जावान बनाइरहेको छ, उनलाई।
जुम्ला खलंगास्थित मेडल, ट्रफी र प्रमाण पत्रले खचाखच भरिएको उनको कोठामा पुग्दा उनले बताइन्, ग्लोवल स्पोर्टस फाउन्डेशनले विश्वव्यापी रुपमा स्पोर्टस र सामाजिक कार्यमा सहभागिताका आधारमा २०१८ मा १० हजार डलर पुरस्कार दिएको कुरा। यति भइसक्दा बल्ल बिउँझिएको गाउँपालिकाले यो वर्ष सम्मान स्वरुप उनलाई ५० हजार दियो।
०००
सुनमायाले हासिल गरेका केही महत्वपूर्ण उपलब्धीहरु,
यो पनि हेर्नुहोस्
Study