सन्दीपको कसिलो बलिङमा जमैकाको शानदार जित

क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत जमैका तलावाजले चौथो खेलमा गुयाना एमेजन वारियार्सलाई पराजित गरेको छ। 

जमैकाको दोस्रो जितमा स्पिनर सन्दीप लामिछानेले उत्कृष्ठ प्रदर्शन गरे।

गुयानाले प्रस्तुत गरेको १ सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍याे। 

जमैकाको जितमा क्रुमा बोनरले सर्वाधिक ३० रनको योगदान दिए। रसेलले नटआउट २३ रन जोडे।

 यी दुईले अर्धशतकीय साझेदारी गर्दै ४७ बलमा ५१ रन जोडे। बोनरले ३२ बलमा ३ चौका र १ छक्कासहित नटआउट ३० रन बनाए। रसेल २० बलमा १ चौका र २ छक्कासहित २३ रनमा नटआउट रहे।

 गुयानाका नविन उल हकले २ तथा इमरान ताहिर, अस्मिड नेड र किमो पलले १-१ विकेट हात पारे।

त्यसअघि पहिलो ब्याटिङ गरेको गुयानाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रनमात्र जोड्न सक्यो। 

टोलीका लागि रोस टेलरले सर्वाधिक २५ रनको योगदान दिए। ओपनर एन्थोनी ब्राम्बल १९ बलमा मात्र ७ रन जोड्दै एडवार्ड्सको शिकार भए। 

सन्दीपले ४ ओभरमा मात्र १२ रन खर्चेर १ विकेट हात पारे। मुजिबले ४ ओभरमा ११ रन दिँदै ३ विकेट लिए। एडवार्ड्सले ३ विकेट तथा रसेलले १ विकेट लिए।

यस्तो रहयो सन्दीपको बलिङ:

दशौं ओभरमा बलिङ गर्न आएका सन्दीपले पहिलो ओभरमा ३ रन खर्चिए। पहिलो बलमा निकोलस पुरनलाई डट गराए। तर दोस्रो बलमा २ रन दिए। 

तेस्रो बलमा पुरनले एक रन लिए। चौथो बलमा रोस टेलर बिट भए भने अन्तिम दुई बलमा उनले कुनै रन जोड्न सकेनन्। 

दोस्रो ओभरमा सन्दीपले ४ रन दिँदै १ विकेट लिए। १२ औं ओभरको पहिलो बलमा नै सन्दीपले विकेट हात पारे। उनले ठूलो सट खेल्ने धुनमा रहेका शेर्फान रदरफर्डलाई एक्स्ट्रा कभरमा रहेका आसिफ अलीको हातबाट क्याच आउट गराए। 

दोस्रो बल गर्ने क्रममा वाइड फ्याँकेका उनले लगातार तीन बल डट राखे। पाँचौ बलमा १ रन दिएका उनले अन्तिम बलमा २ रन खर्चिए। 

उनले तेस्रो ओभरमा जम्मा १ रन खर्चिए। १४ औं ओभरको पहिलो बलमा सन्दीपले क्रिस ग्रिनलाई बिट गरे। दोस्रो बलमा रन लिन नसकेका ग्रिनले तेस्रो बलमा १ रन जोडे। त्यसपछि किमो पललाई लगातार तीन बल डट राख्दै सन्दीपले अर्को कसिलो ओभर समापन गरे। 

अन्तिम ओभरमा सन्दीपले ४ रन खर्चिए। १६ औं ओभरको पहिलो बलमा सन्दीपले १ रन दिए। दोस्रो बलमा नविन उल हकले रिभर्स स्विपमा २ रन जोडे। त्यसपछि लगातार तीन बल डट गरेका सन्दीपले अन्तिम बलमा १ रन दिए। 

सन्दीपले ४ ओभरमा मात्र १२ रन खर्चेर १ विकेट हात पारे।

प्रकाशित मिति: : 2020-08-26 06:53:02

प्रतिकृया दिनुहोस्