उपेन्द्रवज्रा छन्द
पवित्र गङ्गा र हिमाल पाखा
धुलो र धर्ती नभ सिन्धु सारा
छ मौन आवाज कहाँ हरायो
बगेर धारा जल आँसु छायो।।
किनारका छाल उफान ल्याए
कि स्निग्ध उर्लेर समुद्र आए!!
प्रभात आभास गरेर रुन्छन्
कहाँ गयौ माधव! खोज गर्छन्।।
विभूति हाम्रा कवि जून-जस्ता
प्रकाश छर्ने रविरूप-जस्ता
नयाँ पिँढीका पनि मार्गदर्शी
युगौँ पुरानो छवि पारदर्शी।।
अनेकमा एक रचेर काव्य
अनन्त गौरीसँगको वियोग
कला डुबायौ मुटुको मसीमा
अगाध मायाभरि सम्झनामा ।।
तिमी निदायौ चिर शान्ति पाई
विहानको शीतसरी विलाई
सिँचेर साहित्य सुधा पिलायौ
बनी सितारा नभ बीच छायौ ।।