झट्ट हेर्दा खेतमा खेतालाहरू काम गरिरहे जस्तो देखिन्छ। तर ती मान्छे होइनन्, सारसको बथान हो।
खैरो र सेतो प्वाँख सपक्क समेटिएर बनेको चिल्लो शरीर, लामो घाँटी र अग्लो खुट्टा, सारस हेर्दै आकर्षक देखिन्छ। त्यसमाथि रातो र कालो टाउकोमा लामो ठुँड।
सारसको पहिचान यही हो।
जोडी र बथानमा बस्न रूचाउने सारस हेर्न केही वर्ष पहिलेसम्म लुम्बिनी विकास कोषभित्रको संरक्षित क्षेत्रमा घन्टौं पर्खिनुपर्थ्यो। अहिले विकास कोषभित्र मात्र होइन, वरिपरिका खेत र सिमसार क्षेत्रमा सारस चरिरहेका र खेलिरहेका देख्न सकिन्छ।
दुर्लभ पंक्षीमध्येको सारसका लागि लुम्बिनी आसपास स्थायी बसोबास क्षेत्र हो। यहाँबाहेक रुपन्देहीकै सियारी, मायादेवी, गैंडहवा, मर्चवार लगायत खेतका हरिया फाँटमा अहिले सारसका बथानै चरिरहेका भेटिन्छन्।
धान, तोरी, गहुँ खेतीमा लाग्ने फट्यांग्रा, झुसिलकीरा, पतेरासँगै गड्यौंला, भ्यागुता, शंखेकीरा र सिमसारमा उम्रिएका कमला वनस्पति, सारसले मन पराउने आहारा हुन्।