यसोदा अधिकारी (सांसद, प्रदेश १)
विराटनगर–१२, सगरमाथा टोल बस्ने देवी गुरुङलाई ६/७ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरोका साथै पखाला लाग्ने, खोकी लाग्ने भएपछि जँचाउन गइयो । रिपोर्ट आउँदा कोभिड पोजेटिभ देखियो ।
रिपोर्ट गत साउन २४ गते बिहान ११ बजे आएको हो । त्यसपछि उहाँलाई घरमा राख्ने स्थिति भएन । उहाँको परिवारमा ४ जना थिए– छोरा, छोरी र छोरीका छोरा ७ वर्षका ।
उहाँहरु डेरामा बस्ने । ट्वाइलेट एउटै प्रयोग गर्ने । देवी गुरुङलाई सुगर र प्रेसर पनि थियो । खोकी लाग्ने र डायरिया पनि भयो त्यहीबेला । कोभिड पोजेटिभ देखिएपछि उहाँको परिवार आतंकित भयो ।
म छिमेकमा बस्ने, मैले सुरुमा वडाअध्यक्षलाई फोन गरेँ । घटना सुनाएँ । व्यस्त भएर होला, धेरैपटक फोन गरेँ, समय दिन सक्नुभएन । व्यस्तताकै काराणले होला भनौं न । अरु धेरै कुरा खोतल्न मैले चाहिनँ ।
म एकदम टेन्सनमा परेँ के गर्ने भनेर । म प्रदेश सभा सदस्य । मैले विभागीय मन्त्री सामाजिक विकास मन्त्रीलाई फोन गरेँ । उहाँले त्यो महानगरभित्रको हो, स्थानीय सरकारले गर्छ भन्नुभयो । बिरामीको अवस्था सुनाएपछि उहाँले ‘आइसोलेसन प्याक छ, घरैमा राख्ने’ भन्नुभयो ।
‘घर होइन डेरा हो, ट्वाइलेट एउटै छ, सात वर्षको बच्चा छ । प्रेसर र सुगर छ । देवी गुरुङको अवस्था गम्भीर छ, घरमा राख्ने स्थिति छैन’ मैले भनेँ । मन्त्रीले सिरियसली लिएको मैले अनुभूत गरिनँ ।
त्यसपछि अलि बढी दिल दुख्यो । उहाँले अरु धेरै कुरा भन्नुभयो । म सत्तापक्षकी सांसद, मैले उठाउने ठाउँ छँदैछ, हाउसमा बोली नै हाल्छु पछि । अहिले चाहिँ उहाँ (सामाजिक विकास मन्त्री) ले भनेका अरु कुरा नभनौं ।
त्यसपछि मन्त्रीसँग कुरा गर्न आवश्यक ठानिनँ । झन तनाव भयो । जहाँबाट जे आशा गरेकी थिएँ, त्यो नभएपछि कहाँ भनौं जस्तो भयो ।
फेरि वडाअध्यक्षलाई नै फोन गरेँ । पटक–पटक गरेँ । व्यस्तताले होला, बल्ल–बल्ल फोन उठाउनुभयो ‘एउटा नम्बर दिन्छु, कसैले फोन गर्छ’ भन्नुभयो ।
एकछिनपछि फोन आयो– महानगर प्रहरी प्रमुख डीएसपीको । डीएसपीले ‘बैजनाथपुरमा होल्डिङ छ । त्यहाँ लाने कि ?’ भन्नुभयो । ‘होल्डिङमा राख्ने स्थिति छैन, सामान्य बिरामी होइन’ भनेँ ।