‘सक्नुहुन्छ भने यहाँबाट नेपाल फर्काइदिनुस्, हामी न मर्नु न बाँच्नु भएका छौं,’ गुल्मीका विनोद नेपालीले कुवेतबाट बिहीबार सेतोपाटीसँग भने।
गरिबी छल्न सपना बुनेर १९ महिनाअघि उनले वैदेशिक रोजगारीको बाटो समातेका थिए।
त्यो सपनामात्र थियो भन्ने छनक एक महिनामै पाउन थाले।
काम थालेको एक महिनामै शोषण सुरू भयो। कम्पनीले सुरुवाती महिनाबाटै पैसा दिन आनाकानी गर्न थाल्यो। सुरू-सुरूमा यस्तै होला भनेर कम्पनीको निर्णय मान्दै काम गरिरहे।
दिन बिते, तीन, छ महिना हुँदै एक वर्ष बिते। कम्पनीले कहिले आधामात्र तलब दियो। दैनिक १२ घन्टा काम गर्दा आफूले पाउने पैसा लिन एकदमै दबाब दिनुपर्ने।
विनोदको जस्तै पीडा अरू ३३ नेपालीको पनि छ।
‘पैसा कमाउन आएकोलाई झै-झगडा गरेर बस्न मन हुन्छ र!,’ नेपालीले सुनाए, ‘अहिले हामी न मर्नु, न बाँच्नु भएका छौं।’
एक वर्ष त जसोतसो यो समस्या झेल्दै गर्दा पनि कामलाई निरन्तरता दिइरहे। जब, विश्वव्यापी रूपमा कोरोनाभाइरसको संक्रमण बढ्यो, कुवेतमा पनि लकडाउन सुरू भयो।