कोरोना भाइरसले यतिबेला सिंगो विश्व त्राहिमामको अवस्थाबाट गुज्रेको छ। यसले नछोएको क्षेत्र या देश सायदै होलान्। अन्य प्रतिस्पर्धामा देशहरूको अवस्था तलमाथि होला तर कोरोना महामारीका हकमा भने सबैजसा देशको अवस्था झन्डै उस्तै छ। अर्थात् कोरोनाले आफ्नो प्रभाव विभेदरहित किसिमले सर्वत्र देखाइरहेछ। चाहे विकशीत हुन् या विकासोन्मुख, सबै देश यसबाट मुक्तिको बाटो खोजिरहेछन्। तर अहिलेसम्म त्यसको भरपर्दो सम्भावना देखिइसकेको छैन।
यसको नकारात्मक र दूरगामी प्रभाव शिक्षा क्षेत्रमा अधीक हुने देखेको छ। योथोचित वातावरण निर्माण गरी प्रोत्साहनमूलक कार्यक्रम नल्याउने हो भने विशेष गरेर अपांग नागरिक तथा बालिका पुनः विद्यालय नफर्कने खतरा छ। नेपालका हकमा यतिबेला एसईईपछिको पढाइ कसरी गर्ने अनि कस्ता उच्च माविमा पढ्ने भन्ने चिन्ताले विद्यार्थी तथा अभिभावकलाई सताएको हुनुपर्छ। आफू राम्रो कलेजमा पढूँ भन्ने ठान्नु जति विद्यार्थीका लागि स्वाभाविक हो, अभिभावकले त्यसका लागि उनीहरूलाई प्रेरित गर्नु अस्वाभाविक होइन। उता आफ्ना कलेजमा विद्यार्थी नै पो नाउने हुन् कि भन्ने चिन्ताले नाफा–नोक्सानको हिसाबमा तल्लीन निजी सञ्चालकहरूको टाउको दुखेको अनुमान गर्न गाह्रो छैन।