'पढ्ने छाँट देखिएन, अब खलासी हुन पनि नसुहाउने भइस्' पढाइमा अलि कमजोर छोराछोरीलाई हेयका साथ भनिने वाक्य हो यो।
पछिल्लो पटक सहचालक भनेर 'खलासी'लाई न्याय गर्न खोजिए पनि यो पेसा उपेक्षामा परेकै छ। ढोका ढक्ढक्याउँदै यात्रुका गन्तव्य फलाकिरहने सहचालकबारे यात्रुका मनमा गाढा बिम्ब छन्– मैलो, धुस्रे-फुस्रे, रातो-खैरो कपाल, कानमा टप लगाउने, झर्केर बोल्ने।
यसैले होला, सकेसम्म यो पेसामा छोराछोरी जोडिन नपुगून् भन्ने कामना गरिन्छ। त्यसो त यो पेसामा पुरुषकै 'सिन्डिकेट' छ। किशोरीहरू यो बाटोमा सितिमिति आइपुग्दैनन्।
तर काभ्रे, पनौतिकी उषा सापकोटा पेसा र समाजकै 'सिन्डिकेट' तोड्न लागि परेकी छन्। अरूभन्दा भिन्नै बाटो हिँड्न मन गर्ने र सबै कामलाई इज्जतले हेर्ने उषा साझा बसकी कान्छी सहचालक बन्न आइपुगिन्। यात्रुलाई गन्तव्यमा ओराल्दै उनी आफ्नै गन्तव्य तय गरिरहेकी छन्।
'म यहाँ आउँदा २१ वर्षकी थिएँ,' उषा साझा आउँदाको दिन सम्झिन्छिन्, 'कम बोल्थेँ, सबैले मलाई नै हेरिरहे जस्तो लाग्थ्यो।'